सदरमुकामस्थित धोबिधारा(कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर अवरुद्ध मेची राजमार्ग मंगलबार राति पूरै चुँडिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयनजिकैको खोल्सीमा गत असोज १६ गते बिहान पौने ६ बजेतिर सुक्खा पहिरो झरेर राजमार्गको करिब ८० प्रतिशत भाग बगेको थियो ।
बाँकी रहेको २० प्रतिशत भाग पनि मंगलबार रातिको भेलबाढीले पूरै बगाइदिएपछि यहाँबाट पैदलै आउजाउ गर्नसमेत नसकिने भएको स्थानीय ईश्वरी तामाङले बताए । ‘अब चाहिँ यहाँबाट पैदल हिँड्ने भागसमेत बाँकी रहेन’ उनले भने,‘धोबिधारातिरबाट कुलधारा आउने सोझो पैदल मार्ग नै बन्द भएको छ ।’
भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर राजमार्ग निर्माण गरिएको थियो । १६ असोजको बिहान वर्षा नै नभएका बेला ह्युमपाइपसहित पहिरो झर्दा राजमार्ग अवरुद्ध बनेको हो । त्यसयता यो खण्ड पुनर्निर्माण गर्न डिभिजन सडक कार्यालयले प्रक्रिया थालिसकेको थियो । तर, पहिरोमा झर्न बाँकी भाग पनि चिरैचिरा परेपछि अहिले करिब ३० मिटर सडक नै पहिरोले लगेको हो । स्थानीयका अनुसार राजमार्गभन्दा करिब सय मिटर तलसम्म खोल्सीले कटान गर्दा पहिरोको जोखिम बढेको छ । ‘यहाँ सडक पुनः सञ्चालन गर्न पनि ठूलो रकम र धेरै समय खर्च हुनसक्छ,ु स्थानीय लक्ष्मण राईले भने, ‘खोल्सी वरपरका घर पनि पहिरोको जोखिममा देखिन्छन् ।’भत्किएको राजमार्गको माथिल्लो भागमा गतवर्षदेखि नै लगातार पहिरो झरेको थियो । गत बर्खामा यो क्षेत्रमा खोल्सीले कटान गर्दा नारायणस्थानका दर्जनौं घरसमेत जोखिममा छन् । अहिले पहिरो झरेको राजगमार्गको विकल्पमा प्रयोग भइरहेको इलाम बजारदेखि धोबिधारा सडकको नारायणस्थान खण्ड पनि त्यही पहिरोको जोखिममा छ । इलाम नगरपालिका प्रशासकीय अधिकृत रामकुमार शाहले वैकल्पिक सडकमा पनि ठूला सवारी साधन चलाउँदा सडक नै दबिएर जाने जोखिम भएको बताए । ुअन्यत्रबाट राजमागएको विकल्प नभएपछि यही सडक प्रयोग गर्नुपर्ने बाध्यता छ,ु उनले भने, ‘तर, यो सडक पनि जोखिममुक्त छैन ।’सोमबार रातिदेखि निरन्तरको वर्षापछि आएको बाढी(पहिरोले मेची राजमार्गका दर्जनौं स्थानमा पहिरो झरेको थियो । सवारी साधन चल्न अवरुद्ध नै भएपनि इलामदेखि झापासम्मको राजमार्ग खुलिसकेको छ । तर, पहिरोले चुँडिएको राजमार्ग पुनर्निर्माणलाई समय लाग्ने देखिएको छ ।