होमस्टे व्यवसायी घिमिरेको हिमाल चढ्नेक्रममा निधन

इलामको सूर्याेदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायी धरणी घिमिरेको मकालु हिमाल आरोहण गर्नेक्रममा निधन भएको छ । स्थानीय मेची माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष घिमिरे मकालु बेसक्याम्पको ४ हजार ६ सय १० मिटर उचाईमा पुगेपछि गम्भीर बिरामी परेका थिए ।
गत असोज ३१ गते ४ हजार २ सय मिटर उचाईको टाडोसा बेसक्याम्पभन्दा केही माथि पुगेपछि धरणी बिरामी परेका थिए । उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेसक्याम्प ल्याइएपछि निधन भएको हिमाल चढ्न सँगै गएका धरणीका माइला दाजु रुद्र घिमिरेले बताए । याङ्माले बेसक्याम्प पु¥याउनुअघि नै अझ गम्भीर भएपछि उनलाई उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो । तर, ३ हजार ५ सय मिटरमा रहेको याङमालेमा ४२ घण्टासम्म पर्खिंदा पनि हेलिकप्टर आउन नसकेपछि कात्तिक १ गते दिउँसो करिब साढे १२ बजे धरणीको निधन भएको उनले जानकारी दिए ।
‘तर, कुनैपनि माध्यमबाट सम्पर्क हुन नसकेका कारण घरमा समेत यो घटनाको खबर पु¥याउन पाइएन,’ त्यहाँबाट फर्केर संखुवासभाको नुम बजार आइपुगेका रुद्रले भने, ‘फोन सम्पर्क हुने ठाउँमा हिजोमात्रै आइपुगेर सबैतिर खबर ग¥यौं ।’ बिरामी लिन पुग्न नसकेपनि शव बोकाउन हेलिकप्टर मगाउँदासमेत पुग्न नसकेको उनले बताए । ‘नुम बजारसम्म शव ल्याउन स्थानीयलाई २ लाख रुपैयाँमा जिम्मा दिएपछि २ घण्टाभन्दा बढी बोक्न सकेनन्,’ रुद्रले सुनाए, ‘हाम्रो परम्पराअनुसार स्थानीय बरुण नदीमा शव जलाउन प्रयास गर्दा सम्भव नभएपछि स्थानीय समुदायकै परम्पराअनुसार सद्गत गरेर नुमसम्म आइपुगेका छौं ।’
इलामको सूर्याेदय नगरपालिकाका ४ सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका थिए । उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए । मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको थियो । ‘स्थानीय जानकारका अनुसार भाइलाई एक्विट निमोनियाँ भएको थाहा भयो,’ रुद्रले भने, ‘उनलाई अस्पताल पु¥याउन निकै प्रयास गरेपनि सबै प्रयास बिफल बनिदिए ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार