इलाम।संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटन सम्बन्धी आयोजना सञ्चालनका लागि छनोट गरेको छ ।
मन्त्रालयले दुई सय गन्तव्र्य आयोजना सूचीमा इलामका देउमाइ नगरपालिका स्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क निर्माण, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माण, माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माइपोखरी÷जोरपोखरी एकिकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजना सार्वजनिक गरेको छ ।
देउमाई स्थित आयोजनाका लागि ५० लाख रुपियाँ लागत साझेदारी र मन्त्रालयको ९४ लाख रुपियाँ लागत गरि एक करोड ४४ लाख रुपियाँ अनुमान गरिएको छ । चुलाचुली गाउँपालिका स्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपियाँ गरि पाँच करोडको योजना अनुमान गरिएको छ । माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजनाका लागि दुई करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा मन्त्रालयको चार करोड ५५ लाख रुपियाँको लागत गरि सात करोड रुपियाँको योजना सार्वजनिक गरिएको छ । यस्तै सन्दकपुर गाउँपालिकाको माइपोखरी÷जोरपोखरी एकिकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजनामा एक करोड ५० लाख रुपियाँको लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपियाँ गरि पाँच करोड रुपियाँको योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका ०७७ अनुसार लागत साझेदारीमा यी योजना सार्वजनिक गरिएको जनाएको छ ।
मन्त्रालयले माघ २९ गतेको निर्णय अनुसार देशभरका दुई सय पर्यटकीय गन्तब्य सूचीकृत गरेको हो ।
यसअघि गतवर्षनै सरकारको सय गन्तव्र्य सूचीमा परेको सूर्योदय नगरपालिकाको कन्याम–अन्तु फिक्कल सर्किटको काम अहिले धमाधम भइरहेको छ ।