संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले सय दिनमा सरकारले सिन्को पनि भाच्न नसकेको बताएका छन् । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको बताएका हुन् । नेकपा एमाले प्रथम माई नगर अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले भूमि आयोग,सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाएका छन् ।
नेम्वाङले बर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्नु नपर्ने बताए । जनताले एमालेलाई झ्याल र भ्यान्टीलेशनबाट आउन जनादेश नदिएको भन्दै आगामी निर्वाचनमा मुल ढोकाबाट सिंहदरबार छिर्ने ठोकुवा गरे । पार्टी ब्यबसाय नभई सामाजिक सेवाको क्षेत्र भएकाले ब्याक्ति भन्दा पार्टी ठुलो र पार्टी भन्दा देश ठुलो हुनेमा कार्यकर्तालाई सोही अनुसार लाग्न आग्रह गर्नुभयो। इलाम क्षेत्र नम्बर(२ का सांसद समेत रहेका नेम्बाङले आफ्नै क्षेत्रमा भएको बिकासको बारेमा चर्चा गर्नुभएको थियो। केही बर्ष अघि ईलामको कर्णाली भनेर चिनिने इलाम–२ मा विकासले उज्यालो बनाएको ठोकुवा गरे ।
जिल्ला कमिटी अध्यक्ष राम रानाले एमाले सरकारले जनमैत्री काम गरेको र माईमा पनि विकासले ठुलो फड्को मारेको जानकारी दिए । सहमति र सहकार्यमा नेतृत्व चयन गर्न सुझाव दिदै अध्यक्ष रानाले कम्युनिस्ट अनुशासन पालना गर्न कार्यकर्तालाई निर्देशन दिए । नगर कमिटी अध्यक्ष मुखराज आङ्देम्बेको अध्यक्ष शुरु भएको अधिबेशनमा प्रदेश सदस्य ध्रुब श्रेष्ठ, नेपाली काँग्रेसका माई सचिव अर्जुन काफ्ले, नेकपा माओवादी केन्द्रका चक्रबहादुर कटुबाल लगायतले सम्बोधन गरेका थिए ।