‘मेटा’ बन्यो फेसबुक, फेरियो नाम

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो ।

मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्दछन् । कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ । हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ ।

फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन भएर मेटा राखिएको भएपनि यसले सोसल मिडिया प्लाटफर्महरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको नामलाई असर गर्ने छैन । केवल यी प्लाटफर्महरुको मातृ कम्पनीको नाम परिवर्तन भएर अबदेखि मेटा रहनेछ ।

नयाँ नाम सार्वजनिक गर्ने क्रममा सिइओ जुकरबर्गले विद्यमान ब्राण्ड नामले कम्पनीले हाल गरिरहेका कामहरु तथा भविष्यमा गर्ने कामहरुलाई समेनट्न नसकेको हुनाले यसको नाम परिवर्तन गर्नुपरेको बताए ।

नाम घोषणाको भर्चुअल कार्यक्रम जुकरबर्गले भनेका छन्– समयसँगै मलाई आशा छ हामीलाई यसलाई एक मेटाभर्स कम्पनीको रुपमा देख्नेछौँ । हामीले जे बनाउन जाँदैछौँ त्यसमै आफ्नो पहिचान र काम अडियोस् भन्ने म चाहन्छु ।

हाल कम्पनीले दुई भिन्न क्षेत्रमा काम गरिरहेको र त्यसमध्ये एउटा सोसल मिडिया एपहरुको परिवार र अर्को भविष्यमा प्रविधिहरुको प्लाटफर्म रहेको जुकरबर्गको भनाइ छ । नयाँ नामसँगै प्रयोगकर्ताहरुले भविष्यमा कम्पनीका अन्य सेवाहरुको प्रयोग गर्दा पनि फेसबुक नै प्रयोग गर्नुपर्ने बाध्यता नरहने जुकरबर्गले जनाएका छन् ।

नाम परिवर्तनसँगै फेसबुकले नयाँ चिह्न (लोगो) पनि सार्वजनिक गरेको छ जस अन्तरगत बुढी औंला उठाएको अर्थात् थम्ब्स् अप वाला लाइकको लोगोलाई निलो इन्फिनिटी आकारको लोगोले विस्थापित गर्नेछ ।

फेसबुककी एक पूर्व कर्मचारीले सार्वजनिक गरेका विभिन्न गोप्य दस्तावेजहरुमा आधारित नकारात्मक समाचारहरुको श्रृंखलासँगै कम्पनीको प्रतिष्ठामा दाग लाग्ने अवस्था आएपश्चात् फेसबुक कम्पनी आफ्नो नाम परिवर्तन गर्ने निर्णयमा पुगेको थियो ।फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस हुगेनले फेसबुकमाथि सुरक्षालाई भन्दा नाफालाई बढी प्राथमिकता दिने गरेको आरोप लगाएकी छन् ।

फेसबुकले राखेको आफ्नो नयाँ नाम ‘मेटा’ ग्रिक शव्द हो जसको अर्थ ‘पर’ भन्ने हुन्छ ।

स्मरण रहोस् सन् २०१५ मा गुगलले आफ्नो कम्पनीको पुनर्संरचना गर्दै मातृ कम्पनीको नाम ‘अल्फाबेट’ राखेको थियो । यद्यपि आम जनमानसमा अहिलेसम्म पनि अल्फाबेट नाम खासै जनजिब्रोमा चलेको छैन र मानिसहरु गुगल नै भनेर चिन्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार