बाढी र पहिराेपीडितलाई राहत वितरण गर्न इलाममा शुरु

फाइल ः राहत वितरण । कात्तिक १ देखि परेको वर्षाका कारण ज्यान गुमाएकी देउमाई नगरपालिका ४ की सरिता राईको परिवारलाई राहत प्रदान गरिदै ।

कात्तिक २ र ३ गतेको भिषण वर्षाका कारण ज्यान गुमाएका परिवारलाई नेपाल सरकारकोतर्फवाट बिहीवारदेखि राहत वितरण सुरु गरिएको छ । गएको २ गते देउमाई नगरपालिका ४ स्थित घर नजिकैको लुतिमाई खोल्सीले वगाएर मृत्यु भएकी ४७ बर्षिय सरिता आचार्यको परिवारलाई सरकारको तर्फवाट २ लाख रुपैयाँ उपलब्ध गराइएको हो । झापावाट फिर्ने क्रममा श्रीमान दिपकसहित सरितालाई घर नजिकैको खोल्सीमा परेका थिए । दिपक तत्काल भाग्न सफल भए पनि सरिता रातभर वेपत्ता भएकी थिइन् । सरिताको शव अर्कोदिन वगाएको स्थानभन्दा करिव ५० मिटर तल खानेपानीको पाइपमा अड्किएको अवस्थामा फेला परेको थियो ।
पीडित परिवारको घरमा नै पुगेर प्रमुख जिल्ला अधिकारी ध्रुववहादुर खड्कासहितको टोलीले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
यस्तै देउमाई नगरपालिकाकोतर्फवाट पीडित परिवारलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ । जिल्लामा ८ परिवारका १८ जनाले ज्यान गुमाएका छन् । सबै पीडितको घरसम्म पुगेर राहत प्रदान गरिने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । पहिरो र भलवाढीका कारण फाकफोकथुम गाउँपालिकामा ६, माङसेवुङ गाउँपालिकामा ४, सूर्योदय नगरपालिकामा ३, माई नगरपालिकामा १ र देउमाई नगरपालिकामा १ जनाको ज्यान गएको थियो । जिल्लामा २ सय ८५ जना विस्थापित भएका छन् । यो विपत्तिमा परेका ५ जना घाइते र ९ जनाको उद्दार गरेर वचाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोका कारण ६ सय ४४ घरगोठमा पूर्ण र आंशिक क्षति पुगेको छ । १९ घर स्थानान्तरण गर्नुृ पर्ने अवस्थामा छन् ।
जिल्ला प्रशासनले अहिलेसम्म प्राप्त क्षतिको विवरण सार्वजनिक गर्दै विद्यालयतर्फ १४ करोड ६२ लाख, स्वास्थ्य केन्द्रमा ३ करोड २३ लाख क्षति भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । त्यस्तै घर आवासमा ४६ करोड ९६ लाख, पुलमा १२ करोड, खानेपानीमा ११ करोड ३५ लाख, सिंचाईमा १९ लाख, नदि कटानमा ८० लाख, विद्युत्मा ९१ लाख, खेलमैदान ५ लाख, कृषिवाली २३ करोड ९५ लाख, पशुपंक्षीमा २ करोड ३० लाख र टेलिफोनमा ४ लाख २० हजारको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो बर्षाका कारण मेची राजमार्गमा मात्र ८ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । अझै पनि क्षतिको विवरण आउने क्रम जारी रहेको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार