इलाम नगरपालिकाले निर्माण गरेको स्रष्टा पार्क उद्घाटन

इलाम नगरपालिकाले निर्माण गरेको स्रष्टा पार्कको आज उद्घाटन गरिएको छ । इलाम चोकबजारदेखि केही तलतिर खोल्सीलाई बाँध बाँधेर निर्माण गरेको पार्कको नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले उद्घाटन गरेका हुन् ।
पार्कको उद्घाटन गर्दै नगरप्रमुख महेश बस्नेतले सबै साहित्यकार, कलाकारलगायत स्रष्टाको सम्मानका निम्ति पार्क निर्माण गरेको बताए । पार्कमा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिको नामाङ्कन गरिएको छ । यस्तै, प्रतिमाका रूपमा चिकित्सक र नर्सको मूर्ति समेत निर्माण गरिएको छ ।
बस्नेतले नगरले इलामलाई सुसंस्कृत बनाउनका लागि यस्ता काम गरेपनि समाजका नकरात्मक काम गर्ने केही व्यक्तिले त्यस्ता विध्वंश गरेको बताए । उनले नगरमा निर्माण गरेको केही मूर्तिको तोडफोड समेत गरिएको भन्दै आपत्ति जनाए । नगरले यस्तै, कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले इलाममा यसबर्ष उद्घाटन बर्ष रहेको बताए । उनले खेर गएको जग्गालाई व्यवस्थापन गरेर नगरले धेरै महत्वपूर्ण संरचना निर्माण गरेको भन्दै नगरको प्रशंसा गरे ।
यस्तै, इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले नगरको आवश्यकताअनुसार विकास निर्माणका काम भइरहेको बताए । कार्यक्रममा इलाम नगरपालिकाका इञ्जिनियर दीपक गुरागाईंलगायतले बोलेका थिए । कार्यक्रमको आयोजना इलाम नगर साहित्य तथा कला प्रतिष्ठानले गरेको थियो भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले गरेकी थिइन् । सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले गरेका थिए भने स्वागत् मन्तब्य नगरका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले गरेका थिए ।

खोल्सीमा बाँध बाँधेर संरचना

इलाम नगरपालिकाले खेर गहिरहेको खोल्सालाई बाँध बाँधेर संरचना बनाउन थालेको छ । सुरुवात देखि फोहोर बग्ने खोल्साका रुपमा रहेको स्थललाई इलाम नगरपालिकाले विभिन्न संरचना निर्माण गरिरहेको हो । जिल्लाको पूरानो नगरपालिकामा रहेको इलाम बजारको अस्पताल नजिकको खोल्सामा बजारको फोहोर फाल्ने गरिन्थ्यो ।
बजार बढेसँगै जग्गाको मूल्य बढ्ने र संरचना बनाउनका लागि जग्गा नपाउने भएपछि खोल्सामा बाँध बाँधेर संरचना निर्माण थालेको हो । इलाम अस्पताल नजिकै रहेको खोल्सालाई बाँध बाँधेर इलाम नगरपालिकाले कभर्डं हल, तरकारीबजार खसिबोका बजार र आँखा अस्पताल निर्माण गरेको हो ।
जिल्लामा खेलकुदका लागि एउउटा मैदान समेत नभएको अवस्थामा इलाम नगरपालिकाले खोल्सामा बाँध बाँधेर खेलकुदका सामग्रीसहित विभिन्न संरचना बनाएर राम्रो काम गरेको स्थानीय धिरेन चेम्जोङ बताउँछन् । उनी भन्छन्, ‘नागरिकको आवाज सुन्ने क्रममा कसैले कल्पना नगरेको ठाउँमा संरचना बनाएर बजारको राम्रो व्यवस्थापन गरेको छ’ । नगरपालिकाले खोल्सिलाई व्यवस्थापन गरेर तरकारी बजार, श्रष्टा पार्क, पशु बजार, आँखा अस्पताल, मोटरसाइकल पार्किङ सहितको रेष्टुरेन्ट, जनकदेव चोक लगायतका संरचनाको निर्माण भइरहेको छ । त्यो सँगै नगरपालिकाले स्रस्टा पार्कमा चित्रकला, मूर्तिकला, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, नृत्य, संगीत, खेलकुद, साहित्य र पत्रकारिता क्षेत्रमा समेत योगदान गर्ने व्यक्तिहरुको नाम पार्कमा राखिसकेको छ । नगरपालिकाले यसैबर्ष सुरु गरेको इलाम आँखा अस्पताल निर्माण सम्पन्न भईसकेको छ । त्यसलाई तत्काल सञ्चालनको लागि काम अघि बढाइरहेको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले बताए । अस्तव्यस्त रहेको बजार व्यवस्थापन निकै चुनौती रहेपनि नयाँ योजनाका साथ खोल्सालाई बाँध बाँधेर विभिन्न संरचना निर्माण गरेको इलाम नगरपालिका वडा नं ७ का अध्यक्ष नरेश श्रेष्ठ बताउछन् । नगरपालिकाले विकास निर्माण मात्र नभएर विभिन्न क्षेत्रको विकासका लागि काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल बताउँछन् । उनी भन्छन्,‘नगरको विकासका लागि पर्यटकीय क्षेत्र पाटेनागीमा गुरुयोजना बनाएरै काम गरिरहेका छौ’ । बाँधबाँधेर संरचना निर्माण गर्ने क्रममा नगरपालिकाले ग्याविन पर्खाल, नाली निर्माण, सिढी र रेलिङ्ग, कम्पाउड वाले रिटेनिङ्ग वाल, लगाएर ठाउँ बनाएको छ । वाल लगाउँदै फिलिङ गरेको र ट्रष्टका हल्का संरचना रहेको कारण खोल्साको बाँध प्रविधिक रुपमा समस्या नआउने गरी निर्माण गरिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाई बताउँछन् ।  आ.व २०७२÷७३ बाट निर्माण सुरु गरिएको उक्त ठाउँमा करीब डेढ करोडभन्दा बढी रकम खर्च भइसकेको गुरागार्इंको भनाइ छ ।  इलाम नगरपालिकाले इलाम बजारमा व्यापारिक प्रयोजनका लागि सिटिमार्ट समेत निर्माण गरेर भाडामा लगाई सकेको छ । नगरपालिकाले कृषि क्याम्पस सञ्चालन र मेडिकल कजेल निर्माणको प्रक्रियापनि अघि बढाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार