नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । उक्त सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन् । ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु,’ राजीनामा दिँदै उनले भनेका छन् ।
अध्यक्ष ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन् । एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो । साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए । ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो। एमालेको सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले भनेका छन्।