मृतक परिवारको घरैमा पुगेर राहत

राहात रकम बुझ्दै फाकफोकथुम गाउँपालिका–३ का श्रीमान कटुवाल । उनको घरमा पहिरोले पुरेर चार जनाको गएको थियो ।

इलाम ।कात्तिकको २ र ३ गते अबिरल रुपमा परेको बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई घरैमा पुगेर राहात दिएको छ । बाढी पहिरोका कारण ज्यान गुमाउनको परिवारलाई जिल्ला प्रशासन कार्यालयले घर–घरमा पुगेर राहात रकम प्रदान गर्दैछ । शनिबार जिल्ला प्रशासन कार्यालयले पहिरोमा पुरिएर मृत्यु भएको ज्यान गुमाएका सात जनाको तीन परिवारलाई घरैमा गएर चेक दिएको हो ।
फाकफोकथुम गाउँपालिकाको–१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको परिवारलाई जनही दुई÷दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । टिना शेर्माको बाबु नरबहादुर शेर्मा र आइतबाहादुर राईको बाबु जर्गबहादुर राईलाई चेक प्रदान गरिएको हो । राई र शेर्माको कच्चि भान्सामा बसिरहेको बेला माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको हो । सो पहिरोमा चार जना परेका थिए, दुईको भने स्थानीयले उद्धार गरेर बचाएका थिए ।
त्यस्तै फाकफोकथुुम गाउँपालिका–३ आमचोकको एकै घरमा पहिरोले पुरेर ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख रुपैयाँ राहात प्रदान गरिएको छ । राहात रकम श्रीमान कटुवालले बुझेका थिए । घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिह कटुवालको बहिनी हुन् । उनको भने कागाजत पुरा गरेर पछि राहात वितरण गरिने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए । पहिरोमा ६ जना परेका थिए । घरको माथिल्लो तलामा सुतेका एक जना उछिट्टिएर पहिरो बाहिर परेकी थिइन भने एक जनाको भने स्थानीयले उद्धार गरेका थिए । बााँसको झ्याङ सहित झरेको पहिरोले ढुङ्गा माटोले बनेको दुईतले घर पुरै नष्ट गरेको छ । बिपदमा परेकाहरुलाई आवश्यक परेकै बेलामा राहात उपलब्ध गराउन घर÷घरै पुगेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । ‘पहिरोले आफन्त गुमाएका परिवार अहिले उनीहरुको काजकिरियामा बसेका छन्, उनीहरुलाई यही बेला थप खर्च आवश्यक छ’, प्रजिअ खड्काले भने,‘सरकारले उपलब्ध गराएको राहात रकम आवश्यक परेकै बेलामा दिदा पीडितहरुले राहात महसुश गर्छन ।’ यसअघि जिल्ला प्रशासन कार्यालयले देउमाई नगरपालिकाको एक परिवारलाई समेत दुई लाख रुपैयाँको चेक राहात स्वारुप उपलब्ध गराइसकेको छ । देउमाई नगरपालिका–४ की ४७ वर्षकी सरिता आचार्यको परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरिएको थियो । आचार्यको परिवारलाई देउमाई नगरपालिकाले समेत थप ५० हजार रकम उपलब्ध गराइएको नगरप्रमुख सूर्य पोख्रेलले जानकारी दिए । बाढी पहिरोका कारण इलाममा १५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार