कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् । शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकलगत्तै उनले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले कान्तिपुरसित बताए । ‘३ जना मन्त्रीको ६ महिने पदावधि पनि आज सकिँदैछ,’ उनले भने, ‘मन्त्रिपरिषद्को बैठकपछि राजीनामा दिने उहाँको तयारी छ ।’ गत वैशाखमा नेकपा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसबेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । सत्ता साझेदार गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । आजै १ नम्वर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले पनि राजीनामा दिएका छन् ।