राईलाई मुख्यमन्त्री बनाउन ४९ सांसदको हस्तक्षरसहित दावी पेश

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् ।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो । नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेको कारण उनको हस्ताक्षर छैन । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले मंगलबार १ बजेसम्म नयाँ सरकारको दावी पेश गर्न आह्वान गरेका थिए ।

विपक्षी गठनबन्धनले आजै दावी पेश गरेपनि राईको नियुक्ति भने मंगलबार १ बजेपछि मात्र हुनेछ । उनले मुख्यमन्त्रीको सपथ सोमबार लिएर सानो आकारको मन्त्रिपरिषद् पनि तत्काल गठन गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार