नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा आज सपथ लिँदैछन्। राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ । मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दैछन् । यद्यपी मन्त्रीको टुंगो भने लागिसकेको छैन । ‘सबै दलबाट १-१ जनाले मन्त्रीको सपथ लिने भन्ने कुरा छ। तर टुंगो लागिसकेको छैन’, माओवादी केन्द्रका एक नेताले भने । नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्कीलाई पठाउने लगभग टुंगो लागेको छ।
यस्तै माओवादीबाट अनुभवी भएको भन्दै दलका नेता इन्द्र आङ्बोलाई पठाउने तयारीबारे छलफल भइरहेको ती नेताले जानकारी दिए । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले भीम आचार्यले राजीनामा घोषणा गरेर त्यसको पत्र बुझाएपछि प्रदेश प्रमुखले उनको राजीनामा स्वीकृत गर्दै मंगलबार एक बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए । सबै सांसदको हस्ताक्षर संकलन गरेर बसेको विपक्षी गठबन्धन लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारीसामु दाबीसहित उपस्थित भएका थिए ।
प्रदेश प्रमुख सोमनाथ अधिकारीले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिए पनि विपक्षी गठबन्धनले सोमबार नै ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेको हुन् । नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा परेर काठमाडौंमा भएकोले उनको हस्ताक्षर भने विपक्षी गठबन्धनले सामेल गराएको छैन । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले सोमबार संसदमा विश्वासको मतको सामना नगर्ने र राजीनामा दिने चर्चासँगै विपक्षी गठबन्धनमा रहेका दलहरूले राईको पक्षमा हस्ताक्षर संकलन थालेका थिए । आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई समय दिने र तत्कालै दाबी पेश गर्न हस्ताक्षर संकलन भएको गठबन्धनका नेताहरूले बताएका थिए ।
मुख्यमन्त्री आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरे पनि संसदको अंकगणित अनुकुल नभएको भन्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गरेका थिए । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जनताले आफू नेतृत्वको सरकारकै निरन्तरता चाहेको भए पनि संसदको अंकगणित अनुकूल नभएको र संविधानको धारा १६८(१) अनुसार नेकपा एमाले बहुमतमा नरहेकोले राजीनामा दिने निर्णय गरेको बताएका थिए । पार्टी विभाजनका कारण आफूले यसअघि नै सरकारबाट राजीनामा दिने सोचाइ बनाएको भए पनि जनअपेक्षालाई सम्मान गर्दै राजीनामा नदिएको उनको दाबी थियो ।