पर्यटन प्रर्वद्धनका लागि सद्भावना दूत

इलाम नगरपालिकाले नगरको पर्यटन प्रर्वद्धनका लागि सदभावना दूत तोकेको छ ।  नगरकार्यपालिकाको सम्पन्न बैठकले इलाम नगरपालिका–१ का यामबहादुर गुरुङ र ललितपुरकी कल्पना महर्जनलाई सद्भावना दूत तोकेको हो । गुरुङ पूर्वकै पहिलो सगरमाथा आरोही हुन् । महर्जन भने सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो पत्रकार महिला रहेको बताइएको छ । महर्जनले तिब्बत तथा नेपालकोे मोहडाबाट सगरमाथा आरोहण गरेर किर्तीमानी राखेकी थिइन् । दुबैजनालाई विदेश तथा स्वदेशमा इलाम नगरपालिकाको प्रचारप्रसार गर्न सदभावना दूत तोकिएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए ।
पछिल्लो समय इलाम नगरपालिकाले नगरक्षेत्रको पर्यटन प्रर्वद्धनका लागि विभिन्न योजनाहरु अघि सारेको छ । नगरपालिकाले पाटेनागी क्षेत्रलाई इलामको प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अघि सारेको जनाइएको छ । पाटेनागीमा भने जैविक विविधता संरक्षण, रेडपाण्डा संरक्षण, पदमार्ग निर्माणका काम हुने श्रेष्ठले जानकारी दिए ।
यस्तै इलाम नगरपालिकाले अहिले सेतीदेवी धार्मिक क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्ने लक्ष्य अघि सारेको छ । सात करोड रुपियाँको परियोजना प्रस्ताव तयार गरिएको इलाम नगरपालिकाले जनाएको छ । नगरपालिकाले अरनिको सांस्कृतिक संग्रहालयलाई पनि पर्यटक घुमाउने स्थानका रुपमा विकास गरिरहेको छ । संग्रहालयमा पूर्खाहरुले प्रयोग गरेका विभिन्न सामग्री राखिएको छ ।
‘अहिले पर्यटकहरु आउन थालेका छन्, यो समयमा भविष्यलाई मध्यनजर गर्दै पर्यटकहरुलाई केन्द्रित गर्नेगरि काम अघि बढाइएको छ ।’ श्रेष्ठले भने ‘सदरमुकाम रहेको इलाम नगरपालिकाले इलाम चिया बगान, भालुढुङ्गा र माइपोखरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।’
इलाम बजार नजिक रहेको भालुढुङ्गा सामुदायिक वनक्षेत्रमा सदरमुकाम आइपुगेका पर्यटकलाई घुमाउने गरि विभिन्न काम गरिएको भालुढुङ्गा पर्यटन प्रर्वद्धन समितिले जनाएको छ । यस क्षेत्रका लागि प्रदेश सरकारले १५ लाख रुपियाँ, राष्टूपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत १५ लाख रुपियाँ र भालुढुङ्गा सम्म जाने कालेपत्रे सडक र लिम्बू जातिको सांस्कृतिक मूर्तिका लागि इलाम नगरपालिकाले ३० लाख रुपियाँ खर्च गरेको छ । भालुढुङ्गामा पद मार्ग, भगवान गौतमबुद्ध र शिवको मूर्ति स्थापना लगायतका कामहरु गरिएको जनाइएकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार