शंकरलाई सम्झिँयो दलित समन्वय समितिले : पुस्तक विमोचन

dav

सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्धारा लिखित दलित आन्दोलन र अनुभूतिहरुको बिहीबार लोकार्पण गरिएको छ ।
एक कार्यक्रमका बीच संविधान सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले उक्त पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकको साहित्यकार मुनाराज शेर्माले समिक्षा गरेका थिए । दलित अधिकारको विषयमा केन्द्रित रहेको शंकरको पुस्तकमा दलित आन्दोलनलाई मूलधारका पार्टीले कसरी लिएका छन् भन्ने विषय स्पष्ट उल्लेख गरिएको छ ।
इसापूर्व १२०० देखि शुरु भएको छुवाछुत प्रथालाई ऋगवेद देखि मनोवादी सिद्धान्त सम्म कसरी लिइएको छ भन्ने विषयलाई समेत पुस्तकमा शंकरले समेटेका छन् । पुस्तकमा नेपालको संविधानले दलित समुदाय र उनीहरुका मुद्दालाई समेटेको विषय, दलित आन्दोलनलाई समाप्त पार्ने पार्टी र नेता तथा दलित आन्दोलनलाई छाँयामा पार्ने तत्वहरुलाई समेत चोटिलो ढंगले उल्लेख गरिएको छ । दलितहरुका सवाललाई नेतृत्व तहलेनै दबाउने गरेको तितो यथार्थ पनि पुस्तकमा लेखिएको छ । रुकुममा हत्या गरिएका नवराज विकसहितका युवाहरु जातीयताकै कारण मृत्यु भएको घटनालाई समेत लेखिएको पुस्तकमा शंकरले दलितका मुद्दालाई राजनीतिक मुद्दा बनाएर राजनीतिक निर्णयबाट देशमा छुवाछुत उन्मूलन दिवश मनाउनु र छुवाछुत मुक्त देश निर्माण गर्नु अन्तिम मार्ग हुने शंकरले औंल्याएका छन् । पुस्तकमा दलित प्रति गरिएको अपमानलाई सभ्यताको कलंकका रुपमा उल्लेख गरिएको छ ।
इलाम नगरपालिका स्थित दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा नवराज शंकर प्रतिष्ठानको शुभारम्भ समेत गरिएको थियो । कार्यक्रममा इलाम नगरपालिका प्रमुख महेश बस्नेतले स्वर्गीय शंकरले दलित आन्दोलनलाई सफलतामा पु¥याउन अनेकन प्रयास गरिरहेको बताए । ‘रेडियो, पत्रपत्रिकामा होस अथवा अन्य कुनै पनि विषयमा आफूलाई अब्बल र दक्ष सावित गर्ने नवराजको निधनले ठूलो क्षति ब्यहोर्नु परेको छ ।’ बस्नेतले भने ‘यस्ता मानिसहरु लामो समयको अन्तरालमा मात्र जन्मिन्छन् र आफूलाई अब्बल सावित गरेर विदा हुन्छन्, नवराज त्यस्तै थिए ।’नेपाली कांग्रेसका नेता होम दुलालले पनि स्वर्गीय शंकरको व्यक्तित्व र उनले गरेका सत्कर्मको चर्चा गरेका थिए ।
कार्यक्रममा शंकरका सहयात्री बसन्त बस्नेतले उनको व्यक्तित्व र चरित्रका विषयमा चर्चा गरेका थिए । यस्तै प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले पनि शंकरको व्यक्तित्वको चर्चा गरेका थिए । सावित्रा शिवाले स्वागत गरेको कार्यक्रममा शंकरको परिवारका तर्फबाट उनका काका देवेन्द्र विकले धन्यवाद ज्ञापन गरेका थिए । बिहीबार नै शुभारम्भ गरिएको नवराज शंकर प्रतिष्ठानको अध्यक्षमा शंकरकी श्रीमती बिजु लकान्द्री र संरक्षकमा शंकरका बुबा उमाकान्त शंकर रहेको प्रतिष्ठानका सचिव इश्वरी तामाङले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार