अझै विषयगत शिक्षकको अभाव झेल्दै विद्यालय

  आवाज सम्वाददाता

इलाम । लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको अभाव झेल्दै आएका धेरै विद्यालयले अझै सम्म शिक्षक पाउन सकेका छैनन् । कोभिड–१९ का कारण विद्यार्थीको निरन्तर पढाइमा अवरोध पछि बल्लतल्ल विद्यालय जान थालेका विद्यार्थी अहिले विषयगत शिक्षक नहुँदा सहज ढंगले पढ्न पाएका छैनन् ।
जिल्लाका धेरै विद्यालयमा आइएसी र विएसी शिक्षकको दरबन्दी रिक्त अवस्थामै छ । पालिकाहरुले जसोतसो नीजि स्रोतबाट शिक्षकको व्यवस्था गरेपनि स्थायी दरबन्दीमा ती शिक्षकहरु कहिले आउलान भन्ने चिन्ताकै विषय छ ।
सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका लगायत अन्य पालिकाहरुमा पनि पटक–पटक विज्ञापन गर्दापनि गणित र विज्ञान विषयका शिक्षकहरु निवेदन दर्ता गराउन समेत आएका छैनन् ।
इलाम नगरपालिकाको बालमण्डल मावि, पुवामझुवा स्थित बीणापाणी मावि, सन्दकपुरको प्रवोधमावि, माइपोखरी संस्कृत मावि, माइजोगमाईको सरस्वती माविलगायतका विद्यालयहरुमा आइएसी शिक्षक अहिले सम्म छैनन् । बालमण्डल माविमा तीन वर्षयता आइएसी शिक्षक छैनन् । विएसी शिक्षक कक्षा नौं र दशमै व्यस्त हुनेहुँदा अन्य विषयमा आधारभूत तहकै शिक्षकले आलोपालो गरेर गणित र विज्ञान पढाउने गरेको बालमण्डलका शिक्षक टीकानाथ पौड्यालले बताए । ‘नगरपालिकाले पटक–पटक विज्ञापन ग¥यो अहिले सम्म एक जना पनि आइएसी आएनन्, हामीलाई अर्कै विषय पनि पढाउनु पर्दा बहुत समस्या भएको छ ।’ पौड्यालले भने ‘बल्लतल्ल भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएको छ, विषयगत शिक्षक नहुँदा विद्यार्थीलाई पनि पढाइमा समस्या भएको छ ।’
उता लामो समय आइएसी र विएसी शिक्षक अभाव झेलेको सन्दकपुर स्थित श्याम्बर माविमा गाउँपालिकाले आफ्नै स्रोतबाट आइएसी र विएसी शिक्षक राखिदिएको छ । अहिले पढाइमा केही सहज भएपनि यस विद्यालयमा पनि दुईवर्ष देखि विएसी र तीन वर्षदेखि आइएसी शिक्षक दरबन्दी खाली रहेको विद्यालयका प्रधानाध्यापक हिमाल न्यौपानेले जानकारी दिए ।
अहिले पालिकाहरु आफैंले शिक्षकको विज्ञापन गर्ने भएकाले के कति शिक्षक अभाव छन् भन्ने ठ्याक्कै तथ्याकं नभएको शिक्षा विकास तथा समन्वय इकाइ इलामका शाखा अधिकृत डम्बर सुवेदी बताउँछन् । ‘अहिले पालिकाहरु आफैंले पनि शिक्षक व्यवस्थापन गरेका छन् । केही विद्यालयमा आइएसी शिक्षक अभावनै छ ।’ सुवेदीले भने ‘विज्ञापन खोल्ने अनुमति माग्न आएका विद्यालयलाई अनुमति दिएका छौैं । तर, आइएसी र विएसी शिक्षकलाई पनि अध्यापन अनुमतिपत्र अनिवार्य गरिएकाले पनि समस्या आएको हो ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार