आन्दोलन होइन जनताको मन जित्नुहाेस्: नेता नेम्बाङ

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्ने बताए । लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? भन्दै घुमाउरो शैलीमा नेम्बाङले आन्दोलन होइन चुनावको तयारी गर्नुपर्ने संकेत गरेका छन् ।

गृहजिल्ला इलाममा बिहीबार आयोजित चुम्लुङ हीम उद्घाटन गर्दै नेम्बाङले भने, ‘म आग्रह गर्छु सबै राजनीतिक दलले विनम्रताका साथ आफ्ना कुरा राखौँ । चिन्ता नलिऊ । जे हुन्छ सर्वाेच्चको फैसला अनुसार नै हुन्छ ।’ उनले आन्दोलनको आवश्यकता नरहेको बताए ।

जनता आफैमा सबल बनिसकेकाले अब दलले आन्दोलनमा होइन जनताको मन जित्नमा प्रतिष्पर्धा गर्नु पर्ने पनि बताएका छन् ।आन्दाेलनभन्दा जनताकाे मन जित्नमा दलहरुले कसरत गर्नुपर्ने पनि उनले बताए ।

आगामी फागुन १५ सम्ममा सर्वोच्चको फैसला हुन्छ । फैसलामा चुनाव गर्ने भन्ने निर्णय गरे सबै दल सेकेण्डकै भरमा चुनावमा उत्रने जिकीर गर्दै, उनले भने, ‘सबै दल चुनावकै तयारीमा छन् । अदालतकाे निर्णय आउन मात्र बाँकी छ ।’

उनले एक फरक प्रसंगमा भने, ‘यस चुम्लुङ हीममा च्याब्रुङ् नाच र लिम्बू गीत मात्र हेर्न सुन्न पाइने होइन, आगामी दिनमा मारुनी, साकेला सेली, तामाङ् सेलोको समेत प्रस्तुती यहि भवनबाट हेर्न पाउछौँ ।’  फरक सँस्कार संस्कृति रीतिरिवाज भए पनि हामी नेपालीमा एक हौँ भन्ने भावना छ भन्नेमा विश्वस्त बन्नमा सबैमा उनले आग्रह गरे ।

यस्तै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शासन व्यवस्था जनतामा निहित भएकाले चुम्लुङ हीम भवनको जग बसेको बताए । कार्यक्रममा बोल्दै उनले पालिकाले भौतिक विकासलाई मात्रै होइन मानवीय पक्ष भाषा, सँस्कार, संस्कृतिलाई जर्गेना गर्ने कार्यमा समेत लगानी गरिरहेको  र आगामी दिनमा पनि गर्ने  प्रतिबद्धता जनाए ।

भवन उद्घाटनकै अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने मिन कुमार लिम्बू र जग्गादाता खड्ग बहादुर लिम्बूलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान समेत गरिएको छ । स‌विधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङकाे सांसद विकास काेष, कृषि भुमि तथा सहकारी राज्यमन्त्री राम रानाकाे प्रदेश सांसद विकास काेष र सुपरमाई हाइड्राेपावर मेची पहाडी पर्यटन विकास समितिलगायतको सहयोगमा ८० लाख भन्दा बढीको लगानीमा भवन निर्माण सम्पन्न भएको बताइएको छ ।

भवन इलाम नगरपालिका वडा नम्बर ५ मा किरात याक्थुङ चुम्लुङ गाउँ शाखाले जग्गा खरिद गरी भवनको निर्माण कार्य सम्पन्न गरेको हो । भवन सभा, सम्मेलन, विवाह, भोज, चाडपर्व लगायत विभिन्न कार्यक्रम सञ्चालनका लागि प्रयोगमा ल्याइनेछ ।

 कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत,  समाजसेवी गोविन्द पौडेल, गंगा भूर्तेल, मनराज जबेगू,  इलाम वडा नम्बर पाँचका वडाध्यक्ष तथा  प्रवक्ता ठाकुरनारायण श्रेष्ठ,  प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तीर्थ जबेगूले सञ्चालन गरेकाे कार्यक्रममा कलाकारहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार