रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई

  आवाज स‌ंवाददाता

प्रजातान्त्रिक योद्दा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दूलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दूलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । दुलाल परिवारसंगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशीको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रुपैयाँ राशीको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गरे ।

करिव तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददातको रुपमा कार्यरत छन् । यस अघि उनी सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समिति लगायतका सञ्चार माध्यममा कार्यरत थिए । इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापीत गराउन क्रियाशील रहेको रामप्रसाद दूलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुन् । समाजसेवामा अग्रसर रहेका दूलालाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
समाज विकासमा दुलालले पु¥याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उनका नाती माधव प्रसाद चम्लागाईंले बताए । ‘उहाँले त्यो समयमा समाज रुपान्तरणको लागि गर्नु भएको कामहरु पछिल्लो पुस्ताको लागि अनुसरणीय छन्, त्यसलाई पछिल्लो पुस्तालाई जानकारी दिने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो’, चम्लागाईंले भने,‘यसलाई हामी ब्यवस्थित बनाउने र निरन्तरता दिन लागि परेका छौ ।’
दुलालले इलामको विकास निर्माण, राजनीति, शिक्षा तथा कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानको बारेमा उनका छोरा जीवन प्रसाद दुलाल, नाती माधव प्रसाद चम्लागाईं, कांग्रेस नेताहरु हरि खनाल, पुन्यप्रसाद गौतम, खगेन्द्र देवान, नेकपा माओवादी केन्द्रका प्रकाश परियार, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, नेपाल पत्रकार महासंघका पूर्वसभापति,सोम सुसेली, महासंघका जिल्ला अध्यक्ष विप्लव भट्टराई लगायतले बोलेका थिए । प्रेस युनियनकी अध्यक्ष सविता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव टिका खतिवडाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार