नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरुले समते ओलीको विकल्प नभएको बताएका थिए । तर १० बुँदे सहमति गरेर एमालेमा बसेका उपाध्यक्ष रावलले आइतबार पत्रकार सम्मेलन गरी दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानी) लागु नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आंशका कायमै रहेको उनले बताए । रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।