नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको निर्वाचन हुँदैछ । दुई निर्वाचन क्षेत्र रहेको इलाम क्षेत्रीय सभापतिको लागि भने चार पक्षिय भिडन्त हुने भएको छ । इलाममा संस्थापन समुह र संस्थापन इतर समुहबाट दुई÷दुई जना क्षेत्रीय सभापतिको उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् ।
इलाममा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिएका दुई÷दुई जना जिल्ला सभापतिका आकाक्षी छन् । जिल्ला सभापतिका आकाक्षी चारै जनाले प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा निकट मानिएका पूर्व जिल्ला सभापति केशव थापा र डम्बर खड्का जिल्ला सभापतिका आकाक्षी हुन् । यस्तै पौडेल समुह निकट भनिएका वर्तमान सभापति हिमालय कर्मचार्य र भेषराज आचार्य समेत जिल्ला सभापतिको दौडमा छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रोङ गाउँपालिका अध्यक्ष समशेर राई उम्मेद्वारी दिएका छन् ।
उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य निकट हुन् । क्षेत्रीय सभापतिको दौडमा दूर्गा बराल छन् । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यानलबाट क्षेत्रीय सभापतिको उम्मेद्वार भएका हुन् । त्यस्तै डम्बर खड्काको प्यानलबाट भीष्म प्रधानले क्षेत्रीय सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् । क्षेत्रीय सभापतिका अर्का दाबेदार मिलन क्षेत्री हुन् । क्षेत्रीयले पूर्व जिल्ला सभापति केशव थापाको प्यानलबाट चुनावी मौदान ओर्लिएका हुन् । इलामको क्षेत्र नम्बर २ मा पनि क्षेत्रीय सभापतिको लागि चारै जना उम्मेद्वारी दर्ता गराएका छन् । माङसेबुङ्ग गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले क्षेत्रीय सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् । इदिङ्गो जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्यको प्यालबाट क्षेत्रीय सभापतिको उम्मेद्वार भएका हुन् । क्षेत्रीय सभापतिको दौडमा इलाम नगरपालिका वडा नं.७ का अध्यक्ष नरेश श्रेष्ठ छन् । उनी कांग्रेसको पूर्व जिल्ला सभापति केशव थापा निकट उम्मेद्वार हुन् ।
इलाम नगरपालिका–४ का उम्मेद्वार नुतन दुलालले पनि क्षेत्रीय सभापतिमा मनोनयन दर्ता गराएका छन् । दुलाल जिल्ला सभापति हिमालय कर्मचार्यको प्यानलबाट निर्वाचनमा होमिएका हुन् । क्षेत्र नम्बर २ मा जिल्ला सभापतिका आकाक्षी डम्बर खड्काको प्यानलबाट मनबहादुर बुढाथोकी क्षेत्रीय सभापतिको उम्मेद्वारी दर्ता गराएका छन् । इलामको क्षेत्रनम्बर १ बाट २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । त्यमा ६० जनाको उम्मेद्वारी परेको निर्वाचन अधिकृत रमेश जोशीले जानकारी दिए । क्षेत्र नम्बर २ बाट २५ जना महाधिवेशन प्रतिनिधि छानिन्छन् । त्यसमा पनि ६० जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी फिर्ता लिने समय रहेकाले उम्मेद्वारको संख्या घट्नसक्ने निर्वाचन अधिकृत जोशीले बताए ।
‘मिलाउने निर्वाचन फिर्ता लिनको लागि हामीले समय दिएका छौ’, उनले भने,‘कसैको उम्मेद्वारी फिर्ता पनि हुन सक्छ ।’ कांग्रेसको यस अघिसम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा भने जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यको समूह बलियो देखिएको छ । चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये तीनवटामा आचार्य समुहको उम्मेद्वारले नेतृत्व हत्याएको छ । आचार्यको प्यानलबाट निर्वाचन क्षेत्र नम्बर १‘क’ निश्कल राई, २ को ‘क’ मा गोपाल चौहान र २ ‘ख’ मा खगेन्द्र लिम्बु सभापतिमा निर्वाचित भएका छन् । १ को ‘क’ मा भने मैया लिम्बु निर्वाचित भइन् । उनी डम्बर खड्का निकट मानिन्छिन् ।