पञ्चायती व्यवस्थाताका आफ्ना भूमिगत नेताकार्यकर्तालाई आस्रय दिएर पार्टीलाई सहयोग पु¥याएको भन्दै सूर्योदय नगरपालिका– १२ स्थित नेकपा एमाले वडा कमिटिले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
जिल्ला कमिटि सचिव महेश बस्नेतले वडानम्बर – १२ का ज्येष्ठ नागरिक चन्द्रप्रसाद ढकाल, कमलबहादुर राई र नन्दलाल वाल्गेलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । पञ्चायती व्यवस्थाका बेला देशमा बहुदलीय व्यवस्था ल्याउन लडेका कम्युनिष्ट भूमिगतहरुले यी तीन जना ज्येष्ठ सदस्यका घरमा सुरक्षित आस्रयस्थलका रुपमा प्रयोग गर्ने गरेका थिए ।
वडा कमिटि अध्यक्ष नरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा एमालेको वडा कार्यालय समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला कमिटि सचिव बस्नेतले पार्टी सुदृढीकरणको काममा लाग्न वडातह सम्मका नेता कार्यकर्तालाई आग्रह गरे । ‘अहिले पार्टी फुटेको भन्ने हल्ला चलाइएको छ । तर, एमाले फुटेको छैन, अवसरका लागि लडेकाहरु अवसर नपाएर पार्टीबाट बाहिरिएका हुन्, यसले नेकपा एमालेलाई कुनै असर गर्दैन ।’ बस्नेतले भने ‘अहिले गाउँ तह देखि केन्द्र सम्मनै एमाले एकढिक्का छ, यसकै कारण अहिले पनि नेकपा एमाले देशको ठूलो पार्टीका रुपमै खडा छ ।’ बस्नेतले नेकपा एमालेका पुराना देखि सदस्य तथा समर्थकहरुलाई ढुक्क भएर एमालेले गरेका कामलाई निर्देशित गर्न र नयाँ पुस्तालाई पार्टीको काममा लाग्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य काजीमान कागतेले वडा नम्बर – १२ को वडा कमिटिले ज्येष्ठ सदस्यको सम्मान गरेर उदारणीय काम गरेको बताए । उनले दशकौं देखि नेकपा एमालेमा रहेर हलचल गरि खम्बाका रुपमा उभिएका नागरिकहरुको सधैं सबैले सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा सूर्योदय नगर कमिटि अध्यक्ष दुर्गादेवी भट्टराईले सूर्योदयमा नेकपा एमाले नयाँ ढंगले पार्टी सुदृढीकरण र संगठन निर्माणमा लागेको बताइन् । सूर्योदयमा नेकपा एमालेको अवस्था अत्यन्तै राम्रो भन्दै युवा, विद्यार्थी, बुद्धिजीवी, किसान, श्रमिक सबै क्षेत्रमा नेकपा एमाले एक ढिक्का रहेको भट्टराईको भनाइ थियो । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य हेमराज आचार्य, सूर्योदय नगरउपाध्यक्ष विमल कार्की, नगर सचिव पारस राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा कमिटि सचिव मिलन राईले सञ्चालन गरेका थिए ।