नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज देशभरका १ सय ४९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत हुने क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन हुँदै छन् ।
यस्तै यही अधिवेशनबाट केन्द्रीय महासमिति सदस्य पनि चुनिदै छन् भने प्रतिनिधि सभा निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमितिको नयाँ संरचना पनि बन्दैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पालिका अधिवेशन सकिएर प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका १ सय ४९ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशनको प्रक्रिया अघि बढेको बताए । ‘पालिका अधिवेशन सकिएर प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका १ सय ४९ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशनको प्रक्रिया अघि बढेको छ, केही क्षेत्रमा सहमतिको प्रयास भइरहेको खबर आएको छ’, केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले भने ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा यी हुन्छन मतदाता
प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्र भित्रका प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरु प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् । यसैगरी सो क्षेत्र भित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभा सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका सदस्य हुन्छन् । यस्तै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको पनि सभापति हुने व्यवस्था कांग्रेस विधानमा उल्लेख छ ।
महाधिवेशन प्रतिनिधि बन्न के छ व्यवस्था ?
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार तोकिए बमोजिम निर्वाचित हुनेछन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता लिएको चार वर्ष पुगेको हुनुपर्छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्छन् । यस्तै प्रदेश अधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनमा उम्मेदवार भएमा निजको प्रदेश अधिवेशन प्रतिनिधि पद स्वतः समाप्त हुने विधानमा उल्लेख छ । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशनको पनि प्रतिनिधि हुनेछन् । केन्द्रीय महासमिति सदस्यको व्यवस्था के छ ?
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्येबाट २ महिलासहित ७ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ४ जना प्रतिनिधि सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित हुने व्यवस्था विधानमा छ ।
यस्तो बन्छ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति (एक भन्दा बढी क्षेत्र भएको जिल्लामा)
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले क्षेत्रीय अधिवेशन प्रतिनिधिबाट निर्वाचित गरेका व्यक्ति प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा रहने छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा एक जना सभापति, दुई सचिव, सहसचिव दुई जना रहने व्यवस्था छ । सभापति पदमा उम्मेदवार बन्न क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पूरा हुनुपर्छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति यो तहमा उपसभापति रहन्छन् ।यसैगरी सभापतिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका निर्वाचित सदस्य मध्येबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जनालाई कोषाध्यक्ष बनाउन सक्छन् ।
यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा १ महिलासहित ४ जना प्रत्यक्ष निर्वाचित सदस्य हुन्छन् । यसैगरी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना सदस्य सम्पूर्ण क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा निर्वाचित हुने व्यवस्था विधानमा छ ।यस्तै प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनद्धारा प्रत्यक्ष निर्वाचित १ महिलासहित ३ जना गरी दुई प्रदेश सभा निर्वाचन क्षेत्रबाट ६ जना सदस्य पनि कार्यसमितिमा आउने छन् ।
यसैगरी सभापतिले कार्यसमितिमा एक तिहाइ महिला सदस्य हुनुपर्ने विधानको व्यवस्था अनुसार समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न सक्नेछन् । यस्तै मातहतका वडा कार्यसमितिका सभापतिलाई कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्थासमेत विधानमा छ भने प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्नु पर्ने विधानमा उल्लेख छ ।