विद्यार्थी संगठनले राजनीतिक मुद्दाभन्दा शैक्षिक मुद्दा चलाउनु पर्ने

  आवाज स‌ंवाददाता

इलाम,पछिल्लो समय विद्यार्थीको हकहितमा काम गर्ने भनिने विद्यार्थी संगठनहरुले राजनीतिक मुद्दा मात्र उठाउन थालेको सरोकारवालाहरुले नै गुनासो गरेका छन् । प्राज्ञिक र बौद्धिक व्यक्तिहरुको थलो विद्यार्थी संगठनहरुले नै शैक्षिक मुद्दा उठाउन नसक्नु दुखःद रहेको विद्यार्थीहरुले बताएका हुन् ।
“कुनै बेला विद्यार्थी संगठनहरुले नै शैक्षिक सुधारको कार्यक्रम ल्याउथे र कार्यक्रम गर्थे । तर, अहिले सबै राजनीतिक मुद्दाको वरीपरी मात्र घुमिरहेको छ ।’ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु)का केन्द्रीय सचिवालय सदस्य इश्वरी तामाङले भने,‘कुनै बेला शैक्षिक मुद्दा चलाएर बहस गर्नेहरु हाम्रै क्षेत्रका व्यक्ति समेत राष्ट्रियस्तरमा अहिले पनि चर्चामा छन् ।
अब पनि हामी त्यसरी नै अघि बढ्नु पर्छ ।’ इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको एक कार्यक्रममा तामाङले यसको बारेमा चर्चा गरेका हुन् । उनले पछिल्लो समय विद्यार्थीहरु फेसबुक र ट्वीटरमा बढी समय दिने कारण सिर्जनात्मक काममा पछि परेको दुखेसो तामाङले पोखे ।
उनले विद्यार्थीका हकमा काम गर्ने विद्यार्थीहरु सधै सिर्जनात्मक काममा अघि बढ्नु पर्ने सामाजिक सञ्जालमा कम समय दिन सुझाब दिए । यस्तै, अनेरास्ववियुद्वारा आयोजना भएको नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रवीन्द्र सुबेदीले विद्यार्थीका लागि समय एकदमै महत्वपूर्ण रहेको र सबैले सिर्जनात्मक रुपमा क्रियाशील रहँदा मात्रै जुझारु र क्षमतावान् विद्यार्थी बनिने बताए ।
उनले वर्तमान सरकारले अपेक्षाकृत काम गर्न नसकेकाले विद्यार्थी र विद्यार्थी संगठनले दबाबका कार्यक्रम ल्याएर सरकारलाई सकरात्मक दिशातर्फ उन्मुख गराउनु पर्ने बताए । नेकपा एमाले इलामका कार्यालय सचिव समेत रहेका सुवेदीले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अत्यन्तै राम्रो काम गर्दागर्दै पनि पदबाट विस्तापित हुनुपरेको दुःखद रहेको बताए । यस्तै, कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य प्रवेश पराजुलीले अनेरास्ववियु विद्यार्थी संगठनमध्येको माउ संगठन रहेको दाबी गरे ।
उनले इतिहासका विभिन्न चरणका परिवर्तनमा अनेरास्ववियुको भूमिका सहरानीय रहेको बताए । कार्यक्रममा अनेरास्ववियुका जिल्ला संयोजक मिलन खत्री, क्याम्पस प्रमुख खगेन्द्र चापागाईंलगायतले बोलेका थिए । अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पसका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन किशोर आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार