नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको खुलेपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी काउन्सिलले नेपाली चियामाथि पुनः प्रयोगशालामा परीक्षण (ल्याब टेस्ट) गर्ने भएको छ । परीक्षणको नतिजा आएपछि मात्रै नेपाली चियालाई भारतीय बजारमा बिक्री इजाजत दिइनेछ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले परीक्षणको बहानामा नेपाली चियामाथि घुमाउरो पारामा निषेध गर्न खोजिएको आरोप लगाए । ‘प्रयोगशालामा परीक्षण भइसकेको नेपाली चियालाई टी काउन्सिलले पुनः परीक्षण गर्ने जनाएको छ,’ उनले भने, ‘यसले हामीलाई दोहोरो क्षति पुग्छ ।’
उनका नेपाली चिया व्यवसायीले परीक्षणबापत ३ महिनामा करिब ५० हजार भारतीय रुपैयाँ तिर्दै आएका छन् । पुनः परीक्षण गर्ने कुराले फेरि आर्थिक भार थपिनेछ । त्यसमाथि परीक्षणको रिपोर्ट आउन केही समय लाग्छ । रिपोर्ट नआउन्जेल चिया बिक्री गर्न पाइँदैन । ‘दोहोरो मापदण्डले थप आशंका उब्जिएको छ,’ उनको दाबी छ, ‘नेपाली चियालाई जसरी पनि रोक्ने भारतको रणनीति हो यो ।’
भन्सार एजेन्ट अग्रवालले काउन्सिलको इजाजतपछि निर्यात भएको चिया आयातकर्ताले गोदाममा लगेर भण्डारण गर्छन् । टी काउन्सिलका अधिकारीले गोदाममै गएर चियाको नमुना संकलन गरी जाँचका लागि पठाउँछन् । जलपाइगुडीमा रहेको काउन्सिलको प्रयोगशालामा जाँच गरी नतिजा आउन करिब ३ साता जति लाग्नेछ । ‘ल्याब रिपोर्ट नआउन्जेल गोदामको चिया सिल गरिन्छ,’ उनले भने, ‘नतिजा राम्रो आए बिक्रीका लागि इजाजत दिइन्छ, नराम्रो आए सिज गरिन्छ ।’