इलाममा अन्तरदेशी इलाम पर्यटनमैत्री साहित्य सम्मेलन

  आवाज संवाददाता


इलाम । इलामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुरु भएको दुई दिवसीय अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन इलाम सदरमुकाममा शुरु भएको छ । साहित्य सम्मेलनको कार्यक्रमकी प्रमुख अतिथि डा. गार्गी शर्मा र इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा ‘पर्यटनको विकासमा साहित्यको भूमिका’ विषयक अवधारण पत्र डा. देवी क्षेत्री दूलाले प्रस्तुत गरेका थिए । अवधारण पत्रमाथि टिप्पणी गर्दै पत्रकार चन्द्र भण्डारीले साहित्यको माध्यमबाट पर्यटनको विकासमा योगदान भइरहेको बताए ।
कार्यक्रममा साहित्य महोत्सव मार्फत पर्यटन प्रवद्र्धन विषयमा प्रमोद प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रधानको कार्यपत्रमा प्रा.डा. सावित्री मल्लकक्षपतिले टिप्पणी गरेका थिए । साहित्यसम्मेलनमा साहित्यकार युवराज नयाँघरेले यात्राः भाव भाका र भाषा शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । नयाँघरेको कार्यपत्रमा रामकृष्ण पन्तले टिप्पणी गरेका थिए । कार्यक्रमका सहभागी वत्ताहरुले साहित्य मार्फत पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना हुने बताएका छन् ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाममा भएको अन्तरदेशीय साहित्य सम्मेलन इलामको पर्यटनको विकासको लागि महत्वपूर्ण काम भएको बताए । ‘यो इलामको सम्बृद्धिको अभियान हो’, उनले भने,‘साहित्यको माध्यमबाट इलामको पर्यटनमा विकास पुग्छ भन्ने विश्वास लिएका छौ ।’
साहित्य सम्मेलनको अवसरमा इलामका दुईजना श्रष्ठालाई पुरस्कृत गरिएको छ । इलाम नगरपालिका साहित्य कला तथा संगित प्रतिष्ठनको तर्फबाट गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेमकुमार खवासलाई सम्मानित गरिएको हो । उनीहरुलाई जनही नगद दश हजार रुपैयाँ सहित, दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको हो ।
यस्तै सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार लिलबहादुर क्षेत्रीलाई प्रदान गरेको ‘भानुप्रतिभा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ क्षेत्रीकी छोरी कृष्ण क्षेत्रीलाई हस्तान्तरण गरिएको छ । दुई लाख रुपैयाँ राशीको २०७७ को पुरस्का ३० असार २०७८ मा वितरण गर्नुपर्ने भएपनि साहित्यकार क्षेत्रीको स्वास्थ्यका कारणले पुरस्कार लिन उपस्थित भएनन् । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नन्दु उप्रेती, कार्यक्रमकी प्रमुख अथिति गार्मी शर्मा र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले इलाममा भएको कार्यक्रममा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा इलामको पर्यटकीय क्षेत्रहरुको बारेमा समेत जानकारी गराइएको थियो । केचना कञ्चनजंघा पर्यटन प्रवद्र्धन समितिका संजीव पौडेलले इलामको पर्यटकीय क्षेत्रको बारमो जानकारी गराए । सम्मेलनको साँझभा भने स्वरसंराण स्वर्गीय नारायण गोपालको स्मृतिमा उनले गाएको गीत प्रस्तुत गरिएको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा भारतको दार्जिलिङ, सिक्किम, आसाम, सिलिगुडि लगायत नेपालका विभिन्न ठाउँका सय हाराहारी साहित्यकारहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार