३ वर्षमा ४० किलो, अभिभावकलाई उपचारमा समस्या

  आवाज सम्वाददाता


इलाम । उमेर अनुसारको मानिसको तौल हुनुपर्ने हो । उमेर अनुसारको तौल भएमा मात्र मानिस स्वस्थ्य हुन्छ । कम या धेरै तौल हुँदा मानिसले सास्ती ब्यहोर्नु पर्ने हुन्छ ।
इलामका एक ३ वर्षीय बालकको तौल अस्वभाविक रुपमा बढेर गएकाले उनका अभिभावकले ठूलो चिन्ता र सास्ती ब्यहोर्नु परिरहेको छ ।
३ वर्षीय बालक दिप्सन काफ्लेको तौल ४० केजी छ । सामान्यः ३ वर्षको बालकको तौल १४ केजी हुनु पर्दछ । तर, दिप्सनको भने तीन गुणभन्दा बढी तौल छ । तौल बढी भएकै कारण उनलाई हेरचाह गर्नका लागि बाबु र आमा ढुक्कै लाग्नु परेको छ । तौल बढी भएका कारण हिडडुल गर्न सक्दैनन् । एक जनाले मात्र बोकेर सौच गराउन समेत समस्या हुने गरेकाले हेरचाहमा आमाबाबुले नै समय दिनु पर्दछ ।
इलाम नगरपालिका माइजोगमाई गाउँपालिका वडा नं. ६ प्याङ घर भएका दिप्सन मोटो भएकै कारण विद्यालय जानसमेत सकेका छैनन् । छिमेकीको ३ वर्षको छोराछोरी बालविकास र बोर्डिङ्ग ठमठम हिँडेर जान्छन् । तर, दिप्सन भने मोटो भएका कारण विद्यालय जान सक्दैनन् । हिँडडुल बाहेकका अन्य व्यवहार भने अन्य बालबालिका सरहनै गर्छन् दिप्सन ।
मेलापात गरेर जीविकोपार्जन गर्दै आएका दिप्सनका बाबु सीताराम काफ्ले र निर्मला अधिकारीलाई पनि दिनदिनै छोरा अस्वभाविक रुपमा मोटाउँदै गएकामा पीर छ । यसैले उनीहरुले ऋणपान गरेर भएपनि भारतको सिलिगुढी र पूर्वी नेपालका थुप्रै अस्पतालहरुमा जाँच गराए । अस्पतालले केही रोग नभएको बताउने गरेको दिप्सनका बाबु सीतारामले बताए ।
जन्मदा साढे ३ केजीको छोराको तौल एक महिनादेखिनै अस्वभाविक रुपमा बढ्न थालेपछि विभिन्न अस्पतालमा जाँच गराउन पुर्याएको तर अहिलेसम्म केही उपचार नलागेको सीतारामले बताए । फेरि डाक्टरको सल्लाह लिनका लागि इलाम अस्पताल आएका सीतारामले भने, हर्मन जाँच गर्न कान्ति बालअस्पताल काठमाण्डौं लैजानु भनेका छन्, खर्च छैन, ऋणपान गरेर अहिलेसम्म जाँच गराइयो । अब सहयोग संकलन गरेर काठमाण्डौंमा जाँच गर्न लैजाने पनि उनले बताए ।
छोराको ढुक्कै हेरचाह गर्दा मेलापात गर्न पनि समस्या हुने भएकाले जीविकोपार्जनमा समेत समस्या हुन थालेको दिप्सनका आमा निर्मलाले बताइन् । ‘सामान्य रुघाखोकी लाग्दा पनि सिकिस्त हुन्छ, बोकेर स्वास्थ्य चौकी लैजान सकिन्न गाडीनै चाहिन्छ,’ निर्मलाले भनिन्, ‘उनको उपचारमा पनि नियमित खर्च उठिरहन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार