जिल्लामा पुरुषको तुलनामा महिला बढी पीडित हुने गरेको एक तथ्यांकले देखाएको छ । घरायसी मामिलादेखि सार्वजनिक क्षेत्रमा समेत महिला नै बढी पीडित हुनु परेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक) इलामले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२१ को जनवरी १ यता जिल्लामा २५ जना महिला पीडित भएका छन् ।
इन्सेककी इलाम प्रतिनिधि बविता मैनालीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म बालअधिकारका घटनामा महिलामात्रै पीडित भएका छन् । यस अवधिमा सात जना हिंसामा पर्दा पुरुषको संख्या भने शून्य छ । यस्तै, महिला अधिकारका क्षेत्रमा पनि १२ महिला पीडित छन् ।
पछिल्लो समय जिल्लामा प्राकृतिक विपत्तिमा समेत महिलाको बढी मृत्यु भएको देखिएको छ ।
हालसम्म जिल्लामा बाढीपहिरोबाट दश महिलाको मृत्यु भएको छ भने पाँच पुरुषको मृत्यु भएको इन्सेकको तथ्यांकले देखाएको छ । प्रतिवेदनमा जिल्ला अदालतको परिसरमै महिलाको हत्या भएको, श्रीमानबाट श्रीमती र छोरीको हत्या भएको लगायतका घटना घटेको उल्लेख गरिएको छ । यसबर्षपनि अघिल्ला बर्षमा झैं मानवबेचविखन, घरेलुहिंसा, हत्या,हत्या प्रयास, भौतिक क्षतिलगायतका घटना उस्तै मात्रामा घटेको मैनालीको प्रतिवेदनमा उल्लेख छ । मानवअधिकार बर्ष पुरस्कार २०२२ को प्रकाशन पूर्वको समीक्षामा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख महेश बस्नेतले यी बाहेक आत्महत्याका घटना समेत इलाममा बढी घट्ने गरेको बताए । यस्तै, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मानिसमा नकरात्मक प्रवृत्ति हावी हुँदा हत्या र हिंसाका घटना बढी भएको बताए ।
उनले मानिसको चेतनाको स्तर उसको भौतिक अवस्थामा भर पर्ने बताए । यस्तै, जिल्ला प्रहरी प्रमुख महेन्द्रबहादुर श्रेष्ठले मानवको बाँच्न पाउने अधिकार नै मानवअधिकार रहेको बताए । उनले समयअनुसार मानवअधिकारका घटना घट्ने प्रक्रिया फेरिदै गएको उल्लेख गरे ।
कार्यक्रममा उच्च बार एशोशिएसन इलामका अध्यक्ष वीरबहादुर खड्का, गैरसरकारी संस्था प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारी, जिल्ला बार एशोसएशन इलामका अध्यक्ष तारानाथ पराजुली, नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष ख्याम भुजेल, जुविल्याण्ड इलाइट एकाडेमी विद्यालयका प्रिन्सिपल भुषान्त सुब्बा, इलाम उद्योग बाणिज्य संघका सचिव नवीन लामिछानेलगायतले बोलेका थिए ।