इलाम । जसवीरेका शरद सुब्बाले आफूले तयारी गरेको चियाको अर्गानिक प्रमाणिकरणको नविकरण गर्न सकेका छैनन । तेस्रो मुलुक निर्यात हुँदै आएको सुब्बाको जसवीरे चिया उद्योगको अर्गानिक चिया अहिले पनि सहज ढंगले निर्यात हुन सकेको छैन ।
नेपाली चियालाई अर्गानिक प्रमाणिकरण प्रमाण पत्र दिने विदेशी संस्थामा वर्षेनी नविकरण गर्नुपर्ने हुँदा नेपाली किसान र उद्योगीहरुलाई ठूलो समस्या छ । ‘विदेशीको पहिलो सर्तनै अर्गानिक प्रमाणिकरणको प्रमाणपत्र हुन्छ ।’ सुब्बा भन्छन् ‘यसपटक पनि चिया बिक्री भएको छैन, त्यसकारण पनि प्रमाणिकरणका लागि सरकार सँग अलि बढी अपेक्षा गरेका छौं ।’ अर्गानिक प्रमाणिकरण गराउन खर्चिलो हुने भएकाले पनि किसानले पाउने हरियो पत्तीको मूल्य पनि घटाउनु पर्ने बाध्यता रहेको सुब्बाको भनाइ छ ।
सुब्बाले जस्तै सूर्योदय नगरपालिका –११ स्थित ओएसिस टी स्टेटले दुईवर्ष देखि अर्गानिक प्रमाणिकरणको नविकरण गर्न सकेको छैन । वार्षिक अर्गानिक नविकरण गराउन कम्तिमा आठ लाख रुपैयाँ खर्च हुने भएपछि नविकरण गराउनै नसक्ने अवस्था आएको ओएसिस टी का सञ्चालक ज्योति अधिकारीको भनाइ छ । अघिल्लो वर्ष दुई हजार किलो तयारी चिया तेस्रो मुलुक निकासी गरेको टीस्टेटले पछिल्लो वर्ष एक किलो पनि पठाउन सकेन । ‘कोभिडका कारण विदेशी बजार ठप्प भयो, हाम्रो उत्पादन गएन,’ अधिकारीले भने ‘हरेक वर्ष नविकरण गर्न करिब आठ लाख रुपियाँ खर्च हुन्छ, चिया नगएपछि आर्थिक भार बढी हुँदा नविकरण गर्नै सकिएन ।’
प्रमाणिकरणका लागि पनि सम्बन्धित संस्थामा निवेदन दिएपछि त्यस किसान र चियाको तीन वर्ष सम्म निरन्तर अनुगमनको खर्च किसान आफैंले व्यहोर्नु पर्छ । तर, राम्रो मूल्य पाउन र विदेश निर्यात गर्न अर्गानिकको विकल्प पनि नभएको सूर्योदय नगरपालिका–८ स्थित सयपत्री चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् ।
अहिले सम्म साँखेजुङस्थित हिमालयन साँग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजंघा टी स्टेट, माइपोखरीको सन्दकपुर चिया कारखाना, जसविरे चिया कारखाना, देउमाइको ब्रर्दश चिया उद्योगले विदेशी संस्थाहरू नासा, आइओएम र सेरेसबाट अर्गानिक प्रमाणिकरणको प्रमाणपत्र लिइसकेका छन् । यस्तै साँखेजुङको उच्चपहाडी चिया उत्पादक सहकारी संस्था, सुन्दपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणिकरण गरिसकेका छन् । साँखेजुङको ग्रीनहील, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जीतपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणिकरणका लागि युरोपियन अर्गानिक एजेन्सी सेरेस र आइओएमबाट भरखरैमात्र अर्गानिक प्रमाणिकरण अन्तिम चरणमा रहेको केन्द्रीय चिया सहकारी संघले जनाएको छ ।
इलामका मात्रै १६ वटा सहकारी संस्थाले अर्गानिक प्रमाणिकरण गरिसकेका छन् । तर समस्या नयाँ प्रमाणिकरण गराउने र नविकरण गर्नेहरुकै रहेको संघका महासचिव रविन राईले बताउँछन् ।
यता ग्रीन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टी, पर्ल टी गरि विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटैमात्र सर्त अर्गानिक चियाको मापदण्ड पु¥याउन भने किसानले लाखौं खर्चेर, वर्षौं कुर्नुपर्ने हुन्छ । विदेशीले अर्गानिक चियानै रूचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योगहरू आफैंले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् । तर, कम्तिमा तीन–चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहंदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् ।
अर्गानिक प्रमाणिकरणका लागि किसान र उद्योगहरुलाई कम्तिमा ७० प्रतिशत सम्म सहयोग गर्न सकिन्छ कि भन्ने सोच रहेको चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बताउनु भयो । ‘सरकारले प्राङ्गारिक उत्पादनलाई सहयोगको निति लिएको छ, यो पटक बजेटमै समावेश गर्न सफल भयौं ।’ भट्टराईले भने ‘अर्गानिक प्रमाणिकरणका लागि विदेशी संस्थाहरुलाई नेपालमै स्थापना गराएर हुन्छ कि अन्य कुनै माध्यमबाट विकल्पको खोजी गर्न जरुरी छ । यो विषयमा टी वोर्ड गम्भीर छ ।’