इलामबजारका अव्यवस्थित तारले समस्या

  आवाज संवाददाता

इलाम बजार क्षेत्रभित्र अव्यवस्थित ढंगले विस्तार गरिएका विद्युत्, टेलिफोन र इन्टरनेटका तारले समस्या आएको छ ।
मेची राजमार्गको अन्तर्गत पर्ने धोबीधारा–जीरो किलोमिटर बीचमा पर्ने एनसीडिसी छेउको खोल्सीमा पहिरोले राजमार्ग अवरुद्ध बनेपछि इलामबजार हुँदै चल्ने सवारी साधनलाई तारले समस्या आएको बताइएको छ ।
पाँचथर–ताप्लेजुङ सम्म जाने ठूला सवारी पनि बजार क्षेत्र भएर आवतजावत गर्नुपर्ने बाध्यता आएपछि बजार क्षेत्रमा विस्तार भएको तारले समस्या भएको व्यवसायीले बताएका छन् ।
अव्यवस्थित तारका कारण समस्या आएपछि इलाम नगरपालिकाले सम्बन्धित सरोकारवालाई बोलाएर तार व्यवस्थित गर्न निर्देशन नै दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलको अध्यक्षतामा भएको बैठकले सात दिनभित्र तार र बाँगिएका पोललाई व्यवस्थित गर्न निर्देशन दिएको छ ।
बैठकमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि सहभागी थिए ।
बैठकले लत्रिएका तार तन्काउने, प्रयोग नभएका तार निकाल्ने र बाँगिएका विद्युत् पोलहरुलाई सोझ्याएर यातायात सञ्चालनलाई सहज बनाउने निर्णय गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार