तेह्रकुने पोखरीको प्रचारका लागि महोत्सव आयोजना हँदै

भौगोलिक र जैविक विविधताको दृष्टिकोणले संवेदनशील मानिएको चुरे क्षेत्रमा संरक्षण गरिएको तेह्रकुने सीमसार क्षेत्रको प्रचारप्रसारको लागि महोत्सव हुने भएको छ । सामुन्द्रिक सतहबाट पाँच सय मिटरको फिटको उचाइमा रहेको इलामको माई नगरपालिका–१ को तेह्रकुने सीमसार सीमसार क्षेत्रको प्रचारको लागि चार दिने महोत्सव आयोजना गरिएको हो । पुष ८ गतेदेखि ११ गतेसम्म चल्ने महोत्सवका बारेमा आयोजकले सोही स्थानमा पत्रकार भेटघाट गरेर जानकारी दिएका छन् ।
चुरे क्षेत्रमा संरक्षण गरिएको पोखरी जैविक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको महोत्सव आयोजक समितिका अध्यक्ष केहरसिंह राईले बताए । ‘चुरे क्षेत्रभित्र यो उचाईमा यति ठूलो पोखरी छैन, यसले चुरे क्षेत्रमा पानीको रिचार्ज ट्यांकको रुपमा काम गरेको छ’, राईले भने,‘भौगोलिक रूपले पनि यो पोखरी रमणीय छ, जैविक विविधता र पर्यावरणीय रुपमा पनि यसको निकै महत्व छ ।’ अहिलेसम्म खासै चर्चामा नरहेको तेह्रकुने पोखरी स्थानीय र सरकारको सहभागीतामा संरक्षण थालिएको हो । पोखरीको संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालय उदयपुरले लगानी गरेका छन् । सीमसार क्षेत्रको पुनरउत्थानमा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।
सीमसार क्षेत्रको लागि अहिलेसम्म एक सय रोपनी भन्दा बढी जग्गा व्यवस्थापन भइसकेको तेह्रकुने सीमसार क्षेत्रका सचिव गोविन्द सोताङले बताए । ३५ रोपनी जग्गामा फैलिएको पोखरी इलामको पर्यटकीय रुटको गन्तब्य हुने सोताङ बताउँछन् । ‘सुखानी सहिद पार्क हुँदै यहाँको तेह्रकुने पोखरी, इलामको सिद्धिथुम्का, पानीटार, माईपोखरी, श्रीअन्तु कन्याम हुँदै झापा फर्किने पर्यटकीय मार्ग बनाउन सकिन्छ’, सोताङले भने,‘पर्यटकीय रुट बनाउन सकियो भने यस क्षेत्रको आर्थिकस्तर समेत उक्सिन्छ ।’
‘भर्जिन ल्याण्ड’ कै रूपमा रहेको चुरे क्षेत्रको पर्यटकीय सम्भावना बोकेको तेह्रकुने सीमसार क्षेत्रको विकासको लागि स्थानीयकै अग्रसरतामा डिपिआरसमेत भइसकेको छ । डिपिआरमा बालबालिका देखि वृद्धवृद्धासम्मको लागि छुट्टाछुट्टै उद्यान बनाउने, आकाशे पुल, भ्यु टावर र पोखरीलाई सिंघार्ने योजना छन् । तर, अहिले सीमसार क्षेत्रको ब्यवस्थापनको मात्रै काम हुँदैछ । सीमसार क्षेत्रको व्यवस्थापनसंगै त्यहाँ आउने पर्यटकको ब्यवस्थापनको लागि होमस्टे चलाउने र स्थानीय परिकार चखाउने योजना रहेको सीमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष केहरसिंह राईले बताए । ‘तेह्रकुनेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकियो भने यहाँका उत्पादनले बजार पाउँछन्, रोजगारीको अवसर हुन्छ र यही क्षेत्रका बासिन्दाको आर्थिक हैसियत उठाउन सकिएला भन्ने विश्वास छ’, उनले भने ।
तेह्रकुने सीमसार क्षेत्रको प्रचार प्रसारको लागि आयोजना गरिएको महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सवपछि तराईका जिल्लाबाट आवागमन बढ्ने अपेक्षा रहेको स्थानीय बिष्णु राई बताउँछन् । ‘यहाँ आउन झापाबाट धेरैबेर लाग्दैन, त्यो भीडभाडबाट यहाँ थकान मेट्नै भएपछि मान्छेहरु आउँलान भन्ने छ’, राईले भने,‘पहिले देखिनै यो क्षेत्रको चर्चा गरौ भन्ने थियो, पहिले भएन अब हुन्छ होला ।’ सीमसार क्षेत्रको प्रचारको लागि अयोजना गरिएको महोत्सवमा माई नगरपालिका क्षेत्रीमा बसोबास गर्ने जात जातिको झाँकीको प्रतियोगिता राखिएको छ । झाँकीका विजेताले १७ हजार तेह्र रुपैयाँ र उपविजेताले १० हजार तेह्र रुपैयाँ पाउने छन् । यस्तै महोत्वसमा खुला भलिवल प्रतियोगिता हुने छ ।
भलिवल प्रतियोगिताको विजेताले १७ हजार १३ रुपैयाँ र उपविजेताले १० हजार तेह्र रुपैयाँ पाउनेछन् । महोत्सवमा स्टलहरु बनाएर स्थानीय उत्पादनको परिकार चखाउने आयोजकको योजना छ । त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिडो, रोटी, वाचिपा (खुकुराको मासुको परिकार) केरा, सिमलको विभिन्न परिकार महोत्सवमा उपलब्ध गराउँने आयोजकका अध्यक्षले बताए । महोत्सवको चारदिन विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार