पाहुना टोली पाण्डा स्पोर्टिङ क्लब सिक्किमलाई पहिलो खेलमा रोक्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगितामा २-१ गोलको कठिन जितबाट चर्च ब्वाइजले बाजी मारेको हो ।
खेलको सुरुवातमै सिक्किमले गोल गरेर अग्रता लिएको थियो । सिक्किमका लागि शुकराज राईले गोल गरेर अग्रता दिलाएका थिए । कडा प्रतिस्पर्धा खेलमा पहिलो हाफमै चर्च ब्वाइजले गोल गरेर खेलमा फर्किएको थियो । चर्च ब्वाइजका लागि कप्तान सोम थापाले बराबरी गोल गरेका हुन् । त्यस्तै, दोस्रो हाफको ६ मिनेटमा विकास थलुङले हेडरमार्फत गोल गर्दै निर्णायक गोल गरे । त्यसपछि पाएको अवसर सदुपयोग गर्न नसक्दा दुवै टोली गोलविहीन बनेका थिए । चर्च ब्वाइजका योगेश गुरूङ म्यान अफ दी म्याच घोषित भए ।
भोलि (शुक्रबार) झापाको अल इन वान सैनिकविरुद्ध कर्णसिं सोनम मेमोरियल एफसी ताप्लेजुङ पहिलो सेमिफाइनल खेल हुनेछ । भोलि नै अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजले साविक विजेता रेड स्टार एफसी झापासँग भिड्नेछ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ
















