इलाममा यो वर्ष ४८ हजार ११६ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको छ । यो तथ्याकं गतवर्षको तुलनामा कम हो । गतवर्ष जिल्लामा अघिल्लो वर्ष ५१ हजार ५५६ दशमलव दुई मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रफल जमिनमा धान लगाइएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
यो वर्ष शत प्रतिशत रोपाईं भए पछि कार्तिक महिनामा आएको बाढी पहिरोले धेरै स्थानमा क्षति पु¥याएकाले उत्पादन घटेको ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले बताए ।
जिल्लाका चुलाचुली गाउँपालिका, माई, इलाम, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ ।
यो वर्ष उत्पादन घटेपनि जिल्लामा उत्पादन हुने खाद्यान्नले जिल्लालाई पुग्ने अवस्था रहेको पन्त बताउँछन् । यहाँ उत्पादित खाद्यान्न बिक्री नगरि प्रयोग गर्ने हो भने यहाँको जनसंख्यालाई अभाव नहुने पन्तको भनाइ छ । इलामका लागि वार्षिक ५८ हजार ३१४ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । खाद्यान्नमा हुने नोक्सानी र पशुआहारका लागि चाहिने अन्न छुट्याउँदा पनि जिल्लामा खान योग्य धान, मकै, गहुँ, जौलगायतका खाद्यान्न एक लाख ४५५ मेट्रिकटन हुने गरेको ज्ञान केन्द्र इलामले जनाएको छ ।
त्यसो त दैवी प्रकोपका कारण धानबालीमा क्षति पुगेपछि सरकारले किसानहरुलाई राहतको कार्यक्रम ल्याएको छ । तर, अझै सम्म धान उत्पादक तथा बाढीपहिरो पीडित किसानले राहत पाउन सकेका छैनन् । ‘सरकारले राहतको कार्यविधिनै जारी गरेर पठाएको थियो, हामीले सबै पालिकाहरुमा धानमा भएको क्षतिको विवरण र पीडित किसानको विवरण संकलन गरेर राहत प्रदान गर्न पठाएका छौं’ बाली संरक्षण अधिकृत पन्त भन्छन् ‘क्षतिको विवरण आउँदै होला, पालिकाले ज्ञानकेन्द्रमा जानकारी भने गराएका छैनन् ।’