फुटबलर भएपछि जे पनि पचाउनुपर्छ भन्छन् । मलाई पनि यो खाने, त्यो नखाने भन्ने छैन । जे आउँछ, मज्जाले खाइदिन्छु ।
दिनहुँ फुटबलको अभ्यास, व्यायाम गर्नुपर्छ । शारीरिक बलको काम बढी हुने भएकाले खानेकुरा भरपेट खानैपर्छ । खानामा म सौखिन त होइन, तर जस्तो खानेकुरा पनि एकपटक चाखौं भन्ने चाहि लाग्छ । फुटपाथको खानेकुरादेखि इन्डियन, कोरियन, चाइनिज, जापानिज, कन्टिनेन्टल सबै किसिमको खानेकुरा खाएको छु ।
आमाको हातको खाना स्वादिलो
फुटबलमा लागेपछि नवलपरासीको घरमा त्यती बस्न पाएको छैन । धेरैजसो समय खेलकुदमै बित्छ । भोक लागेको बेला भने घरको याद आउँछ । अझ आमाले पकाउनुभएको खानेकुरा सम्झेर मुखमा पानी आउँछ ।
आमाको हातले पकाएको खाना यति स्वादिलो लाग्छ कि, मलाई अहिलेसम्म त्यस्तो स्वाद नै मिलेको छैन । आमाको हातले पकाएको खानामा आत्मियता पनि मिसिएको हुन्छ । त्यही भएर अरु स्वादिलो भएको होला ।
घर गएको बेला मलाई आमाले मेरो मनपर्ने खानेकुरा पकाइदिनुहुन्छ । मलाई मनपर्ने भनेको दाल, भात नै हो । अझ सुँगुरको मासु । घरको भान्सामा पाकेको सुँगुरको मासु र भातले मेरो मन कहिल्यै अघाउँदैन । थपीथपी खाइदिन्छु ।
सुँगुरको मासु र रायोको साग
मैले धेरै किसिमको खानेकुरा खाएँ । विदेशतिर पनि नयाँ नयाँ स्वाद चाखें । तर, नेपाली खाना जस्तो मीठो अरु लाग्दैन । त्यसमाथि घरमा आमाले पकाउनुभएको भात ।
म घर जाने थाहा पाउनसाथ आमाले मेरो लागि सुँगुरको मासु ल्याइदिनुहुन्छ । मेरो सबैभन्दा मनपर्ने खाना सुँगुरको मासु नै हो । त्यसमा रायोको साग हुनुपर्छ । यहाँ बजारमा पाइने जस्तो होइन, लोकल रायोको साग । सेतो वोसो र रातो मासु बराबर मिसिएको टुक्रा । त्यसलाई रायोको सागमा छिपछिपे रस हालेर पकाएको हुनुपर्छ । अझ खानाको डोज बढाउने हो भने, अकबरे खुर्सानी पनि हुनुपर्छ । यति भएपछि जति पनि भात रुच्छ । पेट अघाएपनि मन अघाउँदैन ।
धराने बंगुरको सुकुटी
धराने कालो बंगुर त शहरको ब्रान्ड नै हो । काठमाडौंमा धेरै ठाउँमा धराने कालो बंगुर मात्र खाने ठाउँ पनि छ ।
मलाई धराने कालो बंगुर मनपर्ने । एकपटक धरान पुग्दा मैले धराने कालो बंगुर सम्झिएँ । त्यहाँ पुगेपछि बंगुरको स्वाद नलिइ फर्कने कुरा भएन । सुकिटी पाइने रहेछ । बंगुरको सुकुटी धित मर्नेगरी खाइयो ।
थकाली खानाको स्वाद
मलाई सुँगुरको मासु र भात बाहेक अर्को मनपर्ने खाना हो, थकाली खाना । काठमाडौंमा भएको बेला थकाली खानामा रुची जाग्छ ।
थकाली खाना त धेरैतिर पाइन्छ । तर, सबै ठाउँमा उस्तै र स्वादिलो चाहि हुन्न । थकाली खानाकै स्वाद पाउने ठाउँमा गएर खानुपर्छ । गुन्द्रुकको अचार, साग, ग्रेभी मासु, तरकारी, जिम्बुले झानेको दाल, घिउ, मोही । थकाली खाना वास्तवमै भरिपूर्ण र मन लोभ्याउने हुन्छ ।
विदेशमा बिफ
विदेशमा भएको बेला त यही खाना भन्ने हुँदैन । ठाउँ अनुसार खाना खानुपर्ने पनि हुन्छ । कन्टिनेन्टल, चाइनिज, इन्डियन । बेलाबखत नेपाली खाना पनि पाइन्छ ।
मलाई विदेशमा हुँदा बिफ खान मनपर्छ । विफ मःमः अझ बढी स्वाद लाग्छ । थाइ फुड्स पनि मेरो रोजाइको खाना हो ।
मलाई खानामा यस्तै चाहिन्छ भन्ने चाहि छैन । रेष्टुरेन्टको मःम, चाउमिन खाइन्छ । फुटपाथको चटपटे, पानीपुरी पनि खाइदिन्छु । जहाँ, जे भेटिन्छ, स्वाद लिएर खान्छु ।