पुस्तौं पुस्ताको चिया मोह

  कोकिला ढकाल, किरण पाैडेल


यतिबेला इलाममा चिया चर्चा निकै चलेको छ । कहिले चिया किसान त कहिले चिया उद्योगी, चिया श्रमिकका विषय वस्तुहरु सञ्चार माध्यमले धेरै बाहिर ल्याइरहेका छन् । तर, चिया भित्रै लुकेको त्यस्तो एउटा पक्ष छ जो छैटौं पुस्तासम्म चिया मोहमा हुर्किरहेको छ । कसरी पुस्तौं पुस्ता चियामा रमाउँदै छ, यसपटक  चियाको राम्रो बिक्रेता हरि गुरुङसँग गरेको कुराकानीको अंश :

अचेल चियामा निकै व्यस्त देखिनु हुन्छ नि ?
गुरुङ: यो ग्रीन भ्यु होटल छेउमा चियाको व्यापार शुरु गरेको करिब ११ वर्ष भएछ । अचेल त चिया बिना दिन कटाउनै गाह्राे लाग्छ ।
 यहाँको चिया कहाँ जान्छ खास गरी ?
गुरुङ: केही चिया विदेश जान्छ, जस्तै जापान, युक्रेन, क्यानडा, युके, केही चिया स्वदेशी बजारमै खपत हुन्छ । धेरै चिया इलाम आउने पर्यटकले कोशेलीकै रुपमा लाने गरेका छन् ।
 विषेश गरि कस्तो चिया छ तपाईसँग ?
गुरुङ: यहाँ ९५ प्रतिशत चिया अर्गानिक हो । जिल्लाको १७ वटा उद्योगको चिया यहाँ आउँछ । बाँकी दुध चिया खानेलाई सिटिसी पनि छ ।
 विदेश पठाउन त अर्गानिक प्रमाणिकरण चाहिन्छ, कसरी व्यवस्थापन गर्नु भएको छ ?
गुरुङ: अर्गानिकनै हो विदेश जाने । हामीले गतवर्षनै राष्ट्रिय चिया तथा कफी विकास वोर्डबाट मापदण्ड पुरा गरेर ट्रेडमार्क पाएका छौं । त्यसले सहज भएको छ ।
 कसरी चियाको व्यापार थाल्नु भयो ?
गुरूङः पहिला म नौं वर्ष वैदेशकि रोजगारका लागि नौं वर्ष मलेसिया बसें । त्यहाँबाट आएपछि प्लास्टिक एनिमियाँबाट बुबा विरामी हुनु भयो । बुबा बित्नु भयो । अनि आमालाई पनि क्यान्सर भयो । बुबा–आमाको उपचारमै विदेशमा कमाएको पैसा सक्कियो । अब फेरि विदेशनै जाने कि के गर्ने भन्ने ठाउँमा पुग्दा मेरी बहिनी पनि चिया फ्याक्ट्रीमै काम गर्थिन्, उनले पनि चियाको व्यापार थालौं भनेर सल्लाह दिइन् । त्यसपछि व्यापार थालियो ।
 तपाईंहरुको त धेरै पुस्ता चियामा छ भन्ने सुनिन्छ नि ?
गुरुङ: त्यो कुरा सही हो । बाजे जिजुबाजेहरुले नेपाली चियामा केही योगदान गर्नुभएको थियो । इलाममा चिया रोपेसँगै गजराज थापाकै पल्टनमा हाम्रो जिजुबा हर्कराज गुरुङ हुनुहुदो रहेछ । यहाँ चिया रोपेपछि हाम्रो जिजुबालाई यो बगानमा थप चिया लगाउन र रेखदेख गर्न गजराजले यता खटाएछन् । त्यसपछि उहाँ छोरा खड्गबहादुर गुरुङलाई पनि पल्टनबाटै खटाएको थियो । खड्गबहादुर पछि बुबा पहलबहादुर गुरुङले सोक्तिम र कन्याम चिया बगान समेत लगाउन खट्नु भएको रहेछ । अहिले हामी पनि बाजेहरुले चिया क्षेत्रमा गरेको कामलाई निरन्तरता दिएका छौं । यसो गर्दा हामी पाँचौं पुस्तामा छौं ।
यति लामो इतिहास रहेछ किन यो तपाईहरुको इतिहास बाहिर आएन ?
गुरुङ: पहिला त खासै चासो भएन । पछिल्लो समय चियाको पनि महत्व बढ्दै जाँदा चिया क्षेत्रको एउटा पाटोमा हाम्रो गुरुङ परिवारको सम्बन्ध छ है भन्ने कुरा पनि देखाउनु पर्छ भनेर हामी पछिल्लो पुस्ता चियामा छौं । अहिले मेरो कान्छो भाई पनि चियानै पढ्ने तयारीमा छ ।
यो व्यापार गरिरहंदा तपाईंको कारोबार, नाफा घाटा के छ ?
गुरुङ: मैले करिब एक लाख रुपैयाँबाट मात्र कारोबार थालेको थिएं । अहिले करिब ३० लाख रुपैयाँको कारोबार होला । कहिले काँही त दैनिक २०–३० हजारको रुपैयाँको पनि कारोबार हुन्छ । त्यस्तो घाटा नाफा नै त होइन , व्यापारिक पाटो चलेको छ । अहिले काठमाडौंको ठमेलमा पनि अर्को पार्टनर सँग एउटा सो रुम खालेको छु तर, कोभिडका कारण त्यहाँको व्यापार चाँहि घटेको छ, पर्यटकहरु न्युन हुँदा ठमेलको व्यापार त्यसैपनि घट्छ ।
 तपाईको पसलमा कति मुल्य सम्मको कस्तो चिया छ ?
गुरुङः अहिले छ सय रुपैयाँ प्रतिकिलो देखि १५ हजार रुपैयाँ प्रतिकिलो सम्मको चिया छ । सिल्भर टिप्स, गोल्डन, ओलङ, व्ल्याक अर्थोडक्सलगायतका विभिन्न जात र क्वालीटीका चिया हाम्रोमा छ ।
नेपाली चियामा तपाईं चाँहि कस्तो भविष्य देख्नु हुन्छ ?
गुरुङ: अहिले पनि धेरै नेपालीले अर्थोडक्स चिया खान जानेका छैनन् । दूध चिनी हालेर सिटिसी खान्छन् । तर, अर्थोडक्स चियाको महत्व, यस्ले मानव स्वास्थ्यमा पु¥याउने फाइदाका विषयमा जानकारी गराउने र उनीहरुलाई सचेत गराउने हो भने नेपाली चियालाई ठूलो परिमाणमा स्वदेशमै खपत पनि गराउन सकिने अवस्था छ । विदेशीले त नेपाली चियाको गुणस्तर र स्वदा बुझेर त्यसै पनि मन पराउनेनै गरेका छन् । तर अबको प्राथमिकता स्वदेशी बजार र स्वदेशी नागरिकलाई दिन जरुरी छ ।
प्रस्तुति: कोकिला ढकाल, किरण पौड्याल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार