स्थानीय सरकारले देशमै पहिलाे पटक आँखा अस्पताल सञ्चालनमा ल्यायाे

  आवाज सम्वाददाता


इलाम । इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा शुरु भएको हो । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ ।
अस्पताल निर्माण शुरु भएको आठ महिनाको अवधिमा सेवा शुरु भएको हो । अस्पताल निर्माणको लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालु आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकम मध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।
नगरपालिकाले सिहबाहिनी खोल्सीलाई ब्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालको लागि भवन निर्माण गरेको छ । सामुदायिक आँखा अस्पतालको लागि हाल छ कोठा भएको एकतले भवन निर्माण गरिएको छ । आँखा अस्पतालको लागि आवश्यक भवन बनाउनको लागि समेत जग्गाको ब्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘रत्न वान्तवाको समाधीस्थल भन्दा माथि र निर्माणाधिन जनकदेव चोकभन्दा मुनिको जग्गा यो आँखा अस्पतालको लागि छुट्याएका छौ’, नगरप्रमुख बस्नेतले भने,‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न यो जग्गा पर्याप्त नै हुन्छ ।’ प्रमुख बस्नेतले नगरपालिकाले छुट्याएको मध्येबाट बचेको रकम समेत आँखा अस्पतालको भौतिक र गुणस्तर बृद्धिको लागि खर्चिने जानकारी दिए ।
नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको छ । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने ब्यवस्था गरेको छ । सोही कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति ब्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष शुसिला नेम्बाङले जानकारी दिइन् । ‘इलाममा आँखा अस्पताल टिकाउन निकै चुनौती छ’, उपप्रमुख नेम्वाङले भनिन्,‘हामी बढि कसरत गरेर भएपनि गुणस्तरीय सेवा दिने पक्षमा छौ ।’
सामुदायिक आँखा अस्पतालमा अहिले शल्याक्रिया बाहेकको सेवा उपलब्ध छ । आखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ । सामुदायिक आँखा अस्पतालमा सातौ तहको एक जना नेत्र विषेशज्ञ, पाँचौ तहको एक जना नेत्र सहायक, एक जना फार्मेसिष्ट र एक जना चस्मा बनाउने प्राविधिक कार्यरत छन् । सामुदायिक आँखा अस्पतालले अहिले विर्तामोड आँखा अस्पतालसंग सहकार्य गर्ने भएको छ । आखा अस्पतालको सहकार्यमा समय समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘शल्याक्रिया गर्नुपर्ने बिरामीको स्क्रिनिङ्ग गरेर निश्चित समयमा यही शल्यक्रिया पनि गराउनेगरी साझेदारी भएको छ’, प्रमुख बस्नेतले भने,‘शल्यक्रियाको लागि चाहिने औजार उपकरण पनि हामीले खरिद नगरेसम्म उहाँहरुलेनै ब्यवस्था गर्नुहुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार