२२ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा इलाम सदरमुकाममा अन्तर विद्यालयस्तरीय प्रभातफेरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीले वैदेशिक रोजगारका कथा चित्रित गरेका तस्वीर प्रदर्शन गरेका थिए । प्रदर्शनबाट ग्रीन भ्याली एकाडेमी इलाम पहिलो, हेरिटेज नेशनल एकाडेमी दोस्रो र आदर्श माध्यमिक विद्यालय तेस्रो भएका छन् ।
विद्यार्थी, शिक्षक, सामाजिक संघ÷संस्थाका प्रतिनिधिहरूको टोली विहान इलामको टुँडिखेलबाट प्ले कार्डसहित निस्किएको थियो । टोली इलाम चोक बजार, मालापथ हुँदै इलाम चोक पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराई, सामी परियोजनाका इश्वरी तामाङ, इलाम नगरपालिकाका अधिकृत प्रेम गौतम, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले सम्बोधन गरेका थिए । आप्रवासी दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित भए । स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोग र स्थानीय सरकारको नेतृत्वमा कार्यक्रम भएको हो ।