प्रेस चौतारीको जिल्ला अधिवेशन पुस २९ मा

  आवाज स‌ंवाददाता

प्रेस चौतारी नेपाल इलाम शाखाको नवौं जिल्ला अधिवेशन यही पुस २९ मा आयोजना गरिने भएको छ । सदरमुकाममा बसेको चौतारी जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशन लागि चौतारी केन्द्रीय सदस्य सटेन्द्र जबेगूको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमितिमा अन्य तीन सदस्य छन् । सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तार गर्न शाखा सचिव किरण पौड्यालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरिएको चौतारीले जनाएको छ ।
बैठकमा प्रेस चौतारीका जिल्ला इन्चार्ज तथा नेपाल पत्रकार महासंघ इलामका पूर्वसभापति धिरेन चेम्जोङले आउँदो अधिवेशनबाट गठन हुने नयाँ नेतृत्वले चौतारीलाई थप गतिशील र सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले पत्रकारहरू आबद्ध जिल्लाकै ठूलो संगठन भएकाले पनि चौतारीमा पत्रकारहरूको आकर्षण बढिरहेको बताए । पार्टी प्रचार विभाग प्रमुख तथा महासंघ इलाम शाखाका पूर्वउपाध्यक्ष प्रकाश अधिकारीले मातृपार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित हुँदासमेत जिल्लाको प्रेस चौतारीमा असर नपरेको बताए ।  उनले पार्टी विभाजित हुँदा पनि सदस्य विचलित नहुनु चौतारीप्रतिको निष्ठा र विश्वास दुवै भएको जनाए । चौतारी केन्द्रीय सदस्य तथा महासंघका निर्वमान केन्द्रीय सदस्य सटेन्द्र जबेगूले चौतारीको केन्द्रीय नेतृत्व पनि पछिल्लो समय संगठन सुदृढीकरणमा सशक्त भएको बताए ।शाखा बैठकले इलाम जिल्लाबाट चौतारीको केन्द्रीय सदस्यमा मनोनीत जबेगू, रोहितचन्द्र भट्टराई, राजु शिवा, कमल राना, कोकिला ढकाल र टंक खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । चौतारीको इलाम शाखामा दुई सय पत्रकार आबद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार