लेखा प्रशासन र स्नातकोन्तरको विषयलाई लिएर विद्यार्थी आन्दोलित, हस्ताक्षर अभियान सुरु

  आवाज संवाददाता

इलाम, १२ पुस : लेखा काउन्टरलाई समयवधिसम्म सञ्चालन गर्न र वागवानी विषयको स्नातकोत्तरमा कृषि र वन विज्ञान विश्वविद्यालय(एएफयु)मा अध्ययन सुनिश्चित गर्न महेन्द्र रत्न बहुमुखी क्याम्पसका विद्यार्थीले हस्ताक्षर अभियान चलाउन थालेका छन् । पटक–पटक क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएपछि विद्यार्थीको मतअभियान सुरु गरिएको विद्यार्थीले बताएका छन् । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको अगुवाइमा सञ्चालित अभियानमार्फत क्याम्पसलाई शत प्रतिशत विद्यार्थीको हस्ताक्षर बुझाएर माग पूरा गर्न दबाब दिने बताइएको छ ।

   विगतमा विभिन्न माध्यमबाट ध्यानाकर्षणा गराउँदा समेत क्याम्पसले नसुनेपछि नयाँ अभियान सुरु गरिएको कमिटीका क्याम्पस अध्यक्ष किशोर आचार्यले जानकारी दिए । ‘हामी यिनै विषयलाई लिएर २४ बुँदे, १८ बुँदे र १० बँुदे ध्यानाकर्षण गरायौ तर सुनुवाइ नभएपछि फरक ढंगको अभियान सुरु गरेका हौं ।’ आचार्यले भने ।

    लामो समयदेखि वागवानी विषयलाई लिएर क्याम्पसमा विद्यार्थी आन्दोलित भए । लोकसेवा आयोगमा वागवागीको विषय सुनिश्चित गर्न, कोटा निश्चित गर्न लगायतका विषयलाई लिएर विद्यार्थी आन्दोलित बने । अहिले लोकसेवाको विषय सर्वोच्च अदालतमा विचाराधिन छ भने स्नातकोत्तरमा अध्ययन गर्न पाउने विषय भने सुनुवाइ भएकै छैन ।

     क्याम्पस प्रशासनले सुनुवाइ नगरेकै कारण आफूहरुको भविष्य अन्यौलमा परेको कमिटी अध्यक्ष आचार्य बताउँछन् । हस्ताक्षर अभियानमार्फत प्रशासनलाई ध्यानकर्षण गराउने त्यसपछि पनि माग पूरा नभए अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने उनको भनाइ छ । आज सुरु अभियानमा तीन सय हस्ताक्षर संकलन भइसकेको छ । चार दिन अभियान निरन्तर चलाइने आचार्य बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार