नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका अर्का आरोपी पनि पक्राउ परेका छन्। प्रहरी यसअघि ८ जनालाई पक्राउ गरेको थियो। एक जना फरार रहेकोमा बुधबार अपराह्न पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कका विभिन्न गेष्ट हाउसमा लगेर ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको थियो।
ती महिला १२ गते नृ बिहान काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमै गेष्ट हाउसमा बसेकी थिइन्।
प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्। पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढालगायत छन्। पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरिसकेको छैन।
महिलालाई सुरूमा युवराज बडुवालले फकाएर गेष्ट हाउसमा लगेको प्रहरीले जनाएको छ। त्यसपछि पालैपालो अरू युवाले विभिन्न गेष्ट हाउसमा लगेका थिए।
ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएको छ।
बलात्कारमा परेको खबर महानगरीय प्रहरी प्रभाग बसपार्कमा पुगेको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो।