माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सञ्चारकर्मीलाई ‘नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने’ प्रतिक्रिया दिए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको छ । दाहाल हलबाट सर्वसम्मत केन्द्रीय सदस्य टुंगो लगाउने र उनीहरूबाट पदाधिकारी चयन गर्ने योजनामा छन् । पदाधिकारी सर्वसम्मत हुने अवस्था नआए केन्द्रीय सदस्य टुंगो लगाएर महाधिवेशन समापन गर्ने विषयमा समेत छलफल चलेको छ ।
युवा नेताहरूले भने सर्वसम्मतका नाममा खुला प्रतिस्पर्धालाई रोक्न नहुने आवाज उठाइरहेका छन् । केन्द्रीय सदस्य दलजित श्रीपालीले अध्यक्ष दाहालको विकल्प नभए पनि अरूका लागि प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘अध्यक्षले प्रस्तुत गरेको राजनीतिक दस्ताबेजलाई गति दिन प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नु राम्रो हुन्छ,’ उनले भने, ‘चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुँदा संगठनमा गति आउँछ । अध्यक्षले अघि सारेका कार्यदिशा सफल हुन्छन् ।’
अर्का एक नेताले खासगरी महासचिवमा सहमति हुन नसके अरू पदाधिकारी पछि केन्द्रीय समितिले चयन गर्ने गरी महाधिवेशन समापन गर्ने छलफल चलेको जानकारी दिए । ‘तर अहिले पदाधिकारी नछान्दा महाधिवेशन खल्लो हुन्छ,’ उनले भने, ‘पदाधिकारीमा सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्नुपर्छ ।’
आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सहमति नभए चुनाव गराउन आफूहरू तयारी अवस्थामा रहेको बताए । ‘राजनीतिक प्रतिवेदनमाथि समूहको रिपोर्टिङ सकिएपछि विधानका विषयमा पनि विचार आउँछन् । त्यसपछि बिहीबार विधान पास हुन्छ । पास भएलगत्तै हामी निर्वाचन प्रक्रिया सुरु गर्ने तयारीमा छौं,’ उनले भने । केन्द्रीय समिति महाधिवेशन प्रतिनिधिले चयन गर्छन् भने पदाधिकारी केन्द्रीय समितिले छान्छ ।
माओवादीको अन्तरिम विधान–२०७८ ले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायहरूको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । विधानसँगै माओवादीले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन नियमावली र कार्यविधिसमेत जारी गरेको थियो । माओवादीले आयोगको सोही नियमावली र कार्यविधिमार्फत सबै तहको नेतृत्व चयन गर्ने दाबी गर्दै आएको थियो । तर सीमित ठाउँमा मात्र निर्वाचन गरिएको थियो । प्रदेश १ र वाग्मतीमा पदाधिकारी निर्वाचनमार्फत छानिएका थिए ।
पदाधिकारीमा क–कसको सम्भावना ?
माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष गरी १५ पदाधिकारी प्रस्ताव गरिएको छ । आकांक्षीको संख्या धेरै हुनाले एकातिर पदाधिकारी सर्वसम्मत बनाउन कठिन देखिएको छ भने समावेशी चरित्रको संरचनाका कारण अन्य आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण छ ।
६ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, मात्रिका यादव, हरिबोल गजुरेल र देव गुरुङ पर्ने सम्भावना छ । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबी छ । महासचिवमै पम्फा भुसालको पनि चर्चा छ । एक जना महासचिव हुँदा अन्य दुई जना उपाध्यक्षमा जान सक्ने स्रोतले जनाएको छ । दुई उपमहासचिव शक्ति बस्नेत, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, गिरिराजमणि पोखरेलमध्येबाट हुने सम्भावना छ । उनीहरूमध्ये कतिपयले भने महासचिवमै दाबी गर्दै आएका छन् ।
सचिवमा केन्द्रीय सदस्य राम कार्की, खगराज भट्ट, हितमान शाक्य, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्तीलगायतको चर्चा छ । सचिवमा समेटिन नसकेका मध्येबाट १ जना कोषाध्यक्ष हुने सम्भावना रहेको नेताहरूले बताएका छन् । पदाधिकारीमा दलितबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग उठेको छ ।
निकट नेताहरूका अनुसार दाहालले पार्टीको कार्यनीति पूरा गर्न सक्ने, संगठन परिचालन र जनसम्पर्कमा जोड दिने तथा तिनै तहको आगामी चुनावमा पार्टीका तर्फबाट पर्याप्त मिहिनेत गर्ने नेताहरूलाई पदाधिकारीमा समेट्न चाहेका छन् । सुदृढ पार्टी, व्यापक जनसंगठन, घनिष्ठ जनसम्बन्ध एवं राष्ट्र र जनताका निम्ति कठोर संघर्षको तयारीलाई मद्दत पुर्याउने केन्द्रीय नेतृत्वमाथि दाहालको चासो रहेको निकट नेताहरूको बुझाइ छ । पार्टीको क्रान्तिकारी रूपान्तरण र उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्न सक्ने व्यक्तिलाई केन्द्रीय पदाधिकारीमा समेट्ने दाहालको योजना रहेको एक नेताले बताए ।
तत्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने भएकाले उक्त कार्यनीति सफल बनाउने खालको नेतृत्व चाहिने दाहालले बताउने गरेका छन् । समाजवादी क्रान्तिको विचारधारात्मक र राजनीतिक कार्यदिशा स्पष्ट भइसकेपछि संगठन, संघर्ष र आचरणको तालमेल चाहिने भन्दै उनले पदाधिकारीमा आउने व्यक्तिको मापदण्डबारे प्रतिवेदनमै संकेत गरेका छन् ।
समाजवादउन्मुख समृद्धिका पक्षधर वाम–लोकतान्त्रिक शक्तिसँग अल्पकालीन र दीर्घकालीन प्रकृतिका मोर्चा बनाउने नीतिलाई समेत सहयोग पुर्याउने पदाधिकारीमा दाहालको चासो रहेको उनीनिकट नेताहरू बताउँछन् । दाहालनिकट एक नेताले भने, ‘चुनावका लागि साधन स्रोत जुटाउनेदेखि प्रचार र संगठन परिचालनसम्मका लागि योग्य पात्र अध्यक्षको रोजाइमा पर्न सक्छन् । कार्यकारी पदमा यो देखिन सक्छ ।’