पाँच वर्षअघि इलाममा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) मा बीमा गराउनेको संख्या एक लाख १६ हजार १५२ पुगेको छ ।
२०७३ सालदेखि सुरु भएको बिमामा १२ हजार ६७१ जना ज्येष्ठ नागरिक, २ हजार १०६ जना रातो कार्ड पाउने अपांगता भएका व्यक्तिका परिवार, १४ कुष्ठ रोगी, एचआइभी पोजेटिभ रहेका ५९ जनाको परिवार सहभागी भएका छन् । स्वास्थ्य बीमा गराउने महिलाको संख्या ५८ हजार ४०४ र पुरुषको संख्या ५७ हजार ७४८ पुगेको छ ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कुष्ठ रोगी र एचआइभी पोजेटिभलाई भने सरकारले निःशुल्क बीमा गरिदिएको सामाजिक स्वास्थ्य बीमा समिति इलामका दर्ता अधिकारी खेम अधिकारीले जानकारी दिए ।
यस्तै, २४ हजार ९६३ महिला स्वास्थ्य स्वयंसेविकाको कूल लागतको ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गरिएको छ । जिल्लाका केही स्थानीय तहहरुले पनि महिला स्वास्थ्य स्वंयसेविका, एकल महिला, ज्येष्ठ दलित, अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरि दिएका छन् । इलाम नगरपालिकाले ज्येष्ठ दलित, माई नगरपालिकाले अपाङ्गता भएका व्यक्ति, सूर्योदयले एकल महिला, रोङ गाउँपालिकाले अपांगता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा गरिदिएका छन् । स्वास्थ्य बिमा गराउँदा एक लाख रुपैयाँ सम्मको उपचारको व्यवस्था भएपछि मुटु, मृर्गाैला, मधुमेह, उच्चरक्तचाप लगायतका रोगका विरामीलाई उपचार गर्न धेरै सजिलो भएकाले पनि स्वास्थ्य बीमा गर्नेहरु वर्षेनी वृद्धि हुँदै गएको अधिकारी बताउँछन् ।
स्वास्थ्य बिमाबाट एघार सय ३३ किसिमका औषधी उपलब्ध हुने गरेको छ । यी मध्ये लक्ष्यणका आधारमा गरिने उपचारमा बढी औषधि खर्च भएको बताइएको छ । जिल्लामा लक्षणको आधार पछि उच्च रक्तचाप, महिलाको पाठेघर, पिसाब र मधुमेहका बिरामीको संख्या बढी रहेको पाइएको अधिकारीले जानकारी दिए ।
बिमा गर्नेले बहिरंग, प्रयोगशाला, एक्स–रे, साधारण चिरफार, मधुमेह, प्रजनन स्वास्थ्य, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, अक्सिजन र स्वास्थ्य जोखिम परीक्षणलगायत सेवा पाउने गरेका छन् । जिल्लाका इलाम अस्पताल, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र, पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र र प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा सुविधाको उपचार हुने गरेको छ । यस्तै माई नगरपालिकामा भर्खरै सञ्चालनमा आएको माई नगर अस्प्तालमा पनि स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरिएको बताइएको छ । यी बाहेक थप उपचार गर्नकालागि सम्बन्धित स्वास्थ्य संस्थाबाट रेफर भएका विरामीहरू झापाको मेची अस्पताल, बी एण्ड सी, आम्दा, लाइफलाइन, मेची आँखा उपचार केन्द्र, विराटनगरस्थित नोबेल मेडिकल अस्पताल र धरान स्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने गरेका छन् ।