मोरङ।प्रदेश नं १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रमको आज शुभारम्भ गरेका छन् ।
प्रदेश प्रमुख अधिकारीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिकामा सामाजिक विकास मन्त्रालय, पूर्वाञ्चल डेन्टल अस्पताल इटहरी र हेल्पिङ युथ इटहरीको सहकार्यमा सञ्चालित तीनदिने ‘प्रदेशप्रमुख ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रमको आज उद्घाटन गर्दै ज्येष्ठ नागरिकलाई जीवनको उत्तराद्र्धमा खुशीसाथ बाँच्न सिकाउने कार्य उदाहरणीय रहेको विचार व्यक्त गरे ।
प्रदेशप्रमुख अधिकारीले प्रदेश सरकारका तर्फबाट शुरु गरिएको यस प्रकारको सामाजिक कार्यले जनताप्रति उत्तरदायित्व रहेको छ भन्ने अनुभूति गराउने विचार राखेका छन् । उनले छिन्ताङ, जालपा देवीको मन्दिर, भ्यूटावर, पाताल पार्क, शहीद स्मारक यस क्षेत्रको पर्यटकको आकर्षण गन्तव्यको केन्द्रका रुपमा रहेको बताए । प्रदेशप्रमुख अधिकारीले यस क्षेत्रमा पर्यटकको आवागमन वृद्धिका लागि सुविधा सम्पन्न होटेल, घरबास, स्वच्छ खानेपानी, सार्वजनिक शौचालयलगायतको व्यवस्थाका सम्बन्धित पक्षले ध्यान दिनु आग्रह गरेका छन् ।
उनले सुन्तला उत्पादनका लागि प्रसिद्ध धनकुटामा आधुनिक कृषियन्त्रको प्रयोग गरी यस्को विकास र विस्तार गरी छिमेकी राष्ट्रमा निर्यात गरेमा आम्दानी राम्रो स्रोत हुनाका साथै आर्थिक समृद्धि हुने विचार राखेका छन् । प्रदेशप्रमुख अधिकारीले विसं २०३६ मा हत्या गरिएको १६ शहीदको यस भूमिका जनप्रतिनिधिहरुले इमान्दार, निष्पक्ष जनउत्तरदायीरुपमा कार्य गरेकामा खुशी व्यक्त गरेका छन् ।