नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् ।
इलाम सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री भने ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ, यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’
एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । गठबन्धनको सन्दर्भमा भने काँग्रेसले ठिक समयमा ठिक निर्णय लिने महामन्त्री विश्वप्रकाशको टिप्पणी छ । ‘ गठबन्धन आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन’, उनले भने,‘काँग्रेसमा विधिवत छलफल नभइकल आगामी निर्वाचनमा गठबन्धन हुनेछैन भन्न पनि मिल्दैन, हामी ठिक समयमा ठिक निर्णय लिन्छौ ।’
कांग्रेस महामन्त्री शर्माले कुनै अथोरेटीले (सभामुखले) गरेको निर्णयमा असहमति राख्न पाइने भएपनि त्यसलाई मान्नुपर्ने बताए । एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मासमिक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासाथ गर्नुहुनेछ र संसदलाई नियमित र विधिसंवद काम गर्न दिनुहुनेछ ।’