इलाम : नेकपा एमाले १० औं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा छ । भोलि नै अधिवेशनको खुला शत्र सुरु हुने भएकाले यतिबेला अधिवेशनको यत्रतत्र चर्चा छ । एमालेमा प्रत्यक्षरूपमा गुटगत नेतृत्व वा प्यानल त छैन तर केन्द्रीय नेतृत्वबाटै एमाले तीन धारमा विभक्त छ ।
एउटा अध्यक्ष केपी शर्मा ओली निकट एमाले संस्थापन धार छ । जसको प्रभाव र संख्या केन्द्रदेखि जिल्लासम्म उल्लेखिय छ । अर्को धार पूर्वमाओबादी समूहको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट नेकपा एमाले र नेकपा माओबादी विभाजित हुँदा एमालेमै रहेकालाई ‘पूर्वमाओबादी’ भनेर चिनिन्छ ।
केन्द्रस्तरमा रामबहादुर थापा‘बादल’ नेतृत्वमा एमालेमा रहेको यो धार जिल्लामा समेत देखिन्छ । संस्थापन, पूर्वमाओबादीसँगै अर्को धार रहेको छ, ‘१० बुँदे’ वा ‘दश भाइ’ समूह । एमाले विभाजित हुँदा माधव नेपाल र झलनाथ खनालसँग नगई एमालेमै रहेकालाई ‘१० बुँदे’ समूह भनेर चिनिन्छ ।
जिल्लामा यी धारको संख्या उल्लेखिय रहेको छ । अहिलेको अधिवेशन नेतृत्व चयन मात्र नभई तीन धार कसरी ‘सेफ’ रहन्छन् भन्ने चासोको विषय बनेको छ ।
कस्तो छ पूर्वमाओवादी समूहको अवस्था ?
पूर्वमाओवादी नेता एवम् एमाले वर्तमान केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा‘वादल’ समूहले एक पदाधिकारीमा दावी गरेको छ । “हामीले धेरै पद मागेका छैनौं । एउटा पदाधिकारी चाहिन्छ भनेका छौ ।” एमाले प्रदेश सदस्य एवम् पूर्वमाओवादी समूहका नेता राजकुमार थापाले भने,“पूर्ववत् माओबादीमध्ये ४० प्रतिशत माओवादी अहिले एमालेमा छ । आम कार्यकर्तालाई आश्वस्त राख्नका लागि पनि हामीले पदाधिकारीमा दावी गरेका हौ ।”
त्यसो त पूर्वमाओवादी समूह आगामी महाधिवेशनमा आफूहरूलाई एमालेले ‘सम्मानजनक’ हिस्सा दिनेमा विश्वस्त छ । पार्टी केन्द्रीय नेतृत्वमा तीन सचिव पाएको यो समूह जिल्लामा राम्रै पदमा पाउनेमा आशावादी छ ।
“एमालेका पहिलाका साथीहरूसँग हाम्रो केही गुनासो छैन ।” प्रदेश सदस्य थापाले भने,“एमालेकै कतिपय नेताले केपी ओलीलाई नेता मान्न अनकनाउँछन् । हामी त फरक धारको भएपनि मान्छौ÷मानेका छौ ।”
त्यसो त पूर्वमाओवादीबाट एमालेमा प्रवेशीलाई केही नेतालाई प्रदेश कमिटीमा मनोनयन गरेपछि यो समूहमा तहल्का मच्चिएको थियो । आफूहरू जिल्ला तहमै रहने भन्दै केही नेताले पद अस्वीकार गरे । थापाका अनुसार अहिले त्यो अवस्था छैन । पार्टीमा मिलेर जान पदभन्दा पनि स्वामित्व ठूलो रहेको थापाको भनाइ छ ।
कस्तो छ ‘दशबुँदे’ नेताको अवस्था ?
अहिले एमाले नेतृत्वले पूर्वमाओवादी समूह मात्र नभई एमालेकै अर्को समूहलाई पनि मिलाउनु पर्ने छ । पूर्वकेन्द्रीय उपाध्यक्ष डा. भीम रावलको नेतृत्वमा एमालेमै रहेको समूहलाई विश्वस्त बनाउनु पर्ने बाध्यता एमालेजनमा छ । तत्कालीन समयमा एमालेका वलिया दावेदार मानिएका जीतबहादुर राई, रणबहादुर राईलगायतका नेता नयाँ पार्टीमा लागेका छन् ।
जीतबहादुर पार्टी विभाजनको सुरुवाती समयमै नेकपा एसमा लागे भने रणबहादुर राई अन्तिम चरणमा मात्रै नयाँ पार्टी प्रवेश गरे । राईले तत्कालीन नेकपा नै रहँदा ‘सूर्य चिन्ह जता, आफू त्यतै लेखेको’ फेसबुक स्टाटस अहिले पनि चर्चित बनिरहन्छ । अन्य नेताका हकमा भने खास प्रभावशाली नेता नयाँ पार्टीमा प्रवेश नगरेको एमाले स्रोत बताउँछ । अहिले ‘दशबुँदे’पछि एमालेमै रहेका नेता हुन्, उदय राई । उनी दशौ अधिवेशनका जिल्ला उपाध्यक्षका दावेदार समेत हुन् ।
“हामीलाई पनि संस्थापनले खास नराम्रो गरेको छैन । अहिलेको अवस्थासम्म दशभाइबाट आएका भन्ने भान छैन ।” दशबुँद्धेबाट फर्किएका जिल्लास्तरीय एक नेताले भने,“तत्कालीन झलनाथ कमरेड (झलनाथ खनाल)निकट मानिने नेतामध्ये ९० प्रतिशत आफूसँग रहेका छन् ।”
उपाध्यक्ष मात्र नभई अन्य केही पदमा आफ्नो समूहका नेताको दावेदारी रहेको उनी बताउँछन् । पूर्वमाओवादी समूहका नेता सामूहिक रूपमा नेतृत्व दावी गर्दैछन् भने दशबुँदेका नेता व्यक्तिगत रूपमा मात्रै नेतृत्व दावी गर्दैै छन् । जिल्लाको अधिवेशन मात्र नभई क्षेत्रीय अधिवेशन तत्काल हुने भएकाले खास समस्या नभएको एमाले संस्थापनको बुझाइ छ । “हाम्रो क्षेत्रीय नेतृत्व समेत चुन्नुपर्ने छ भने प्रदेश कमिटी पनि बनाउनु पर्ने छ ।” संस्थापन समूहका एक नेताले भने,“ नेताहरू व्यवस्थापन जसरी पनि हुन्छ । गाह्रो छैन ।”