के सर्वसहमतिमै चुनिएला एमाले इलामकाे नेतृत्व ?,यस्ताे छ इलामकाे इतिहास

  शुक्रबार र शनिबार हुने दशौं जिल्ला अधिवेशनबाट सर्वसम्मत ढंगले नेतृत्व चयनका नेकपा एमाले लागेको छ । अधिवेशनका लागि प्रमुख अतिथिका रुपमा बुधबारनै जिल्ला आइपुगेका एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामबहादुर रानाले सर्वसम्मत नेतृत्व तयार गर्न छलफल जारी राखेका छन् । ११९ जना रहेको अघिल्लो जिल्ला कमिटी भन्दा यसपटक बनिने जिल्ला कमिटीको कूल संख्या घटाएर १०५ मा झारिएपछि एमालेलाई त्यसैपनि जिल्ला तहका नेता कार्यकर्ताको व्यवस्थापन गर्न निकै कठिनाइ छ ।
पहिला जिल्ला कमिटीमा बसिसकेका नेताहरु भइरहेको पद भन्दा माथिल्लो तहको पदमा जान इच्छा जाहेर गर्नु अस्वभाविक पनि होइन । तर, पाँच सदस्य पदाधिकारीमै पनि जिल्ला तहका धेरै नेताहरुले इच्छा देखाएको बुझिएको छ ।
एमालेको पदाधिकारीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरि पाँच संख्या रहेको छ । अहिले सम्म अध्यक्षका लागि तीन जनाको नाम चर्चामा आएको छ । एक महिना अघिमात्र अध्यक्षको जिम्मेवारी पाएका वर्तमान अध्यक्ष महेश बस्नेत, नरेन्द्रनाथ भट्टराई र देवीक्षेत्री दुलालले अध्यक्ष पदका लागि दाबी गरिरहेको एमाले स्रोतको भनाइ छ ।
अध्यक्षको दाबी गरिरहने बस्नेत एक महिना अघिमात्र अध्यक्षको जिम्मेवारी पाएकाले एक कार्यकाल पार्टी अध्यक्ष चलाउनु पर्छ भन्ने सोचमा छन् । यसअघि पार्टी सचिव रहेका बस्नेत जिल्लाको हकमा पार्टीको दरो खम्बा मानिन्छन् । अध्यक्षको चर्चामा रहेका भट्टराई पनि उमेरका हिसाबले पनि एमालेको पुरानो पंक्तिको नेता मानिन्छन् । उमेरका हिसाबले एमालेले ७० वर्ष उमेर पार गरेपछि पार्टी अध्यक्ष चलाउन नपाउने व्यवस्था छ । त्यस्लाई हेर्ने हो भने भट्टराईले यसपटक अध्यक्ष भए एक कार्यकालमात्र अध्यक्ष चलाउन पाउने अवस्था छ । तर, पनि एउटै पदमा दाबी गरिरहंदा एकै जनामात्रै अध्यक्ष हुनेहुँदा सहमति गरेर अगाडि बढ्नुनै उत्तम विकल्प रहेको भट्टराईको बुझाइ छ ।

‘माथिल्लो नेतृत्वले हामी बीच सहमतिको प्रयास गर्दैछ । उहाँहरु सँग सहमतिका आधार मैले पनि राखेको छु, अहिले पार्टी संकटमा छ, यस्तो अवस्थामा चुनावमा नजाउँ जस्ले जस्लाई छोडेपनि सर्वसम्मत गरौं भन्ने पक्षमै छु ।’ भट्टराईले भने ‘अहिले पार्टीमा नेतृत्व गर्ने धेरै नेता कार्यकर्ता तयार भएका छन् । पार्टी भित्र ठाउँ र अवसर उत्तिकै छ मात्र बाँडेर सहमति गरेर जाँदा पुग्छ ।’ अध्यक्षका अर्का दाबेदार देवी क्षेत्री दुलाल भने आफू अध्यक्ष हुनै पर्छ भन्ने ठाउँमा छैनन् । बस्नेत र भट्टराईले सहमति गरेभने आफूले छोडिदिने र यदि चुनावमा जान्छन् भने आफू पनि चुनाव लड्ने ठाउँमा रहेको दुलालको भनाइ । ‘सर्वसम्मति र त्यसको उपायाका विकल्प धेरै छन् । बस्नेत र भट्टराई दुवैलाई एक जनालाई पार्टी अध्यक्ष चलाउन र एक जनालाई प्रदेश कमिटीमा गएर पछि संसदीय चुनावमा जानु भन्ने मेरो सल्लाह हो ।’ दुलाले भने ‘माथिल्लो नेतृत्वले त्यो प्रयास गर्छ र सर्वसम्मत बनाउँछ भने म पार्टीको वफादार कार्यकर्ता भएर बस्न तयार छु ।’
जिल्ला उपाध्यक्षका लागि पनि धेरै जनाको नाम चर्चामा छ । उदयबहादुर राई, शोभा पराजुली, रत्नबहादुर अधिकारी, काजीमान कागते, ओमनारायण खनाललगायतको नाम उपाध्यक्षका लागि चर्चामा छ । उपाध्यक्षका लागि पनि सर्वसम्मत गराउन एमालेले सम्भावित उम्मेदवारहरु कस्लाई कुन स्थानमा पठाउँदा ठीक हुन्छ भन्ने निक्यौल गरिरहेको बुझिएको छ । तर, उम्मेदवार बीच पनि व्यक्तिगत टसलका कारण ‘म नहुने भए उस्लाई पनि हुन नदिने’ भन्ने मनसायको विकासले गर्दा नेतृत्वलाई नयाँ नेतृत्व मिलाउन निकै हम्मेहम्मे छ । तर पनि एमालेले उपाध्यक्षका उम्मेदवारलाई पनि कस्लाई प्रदेश कमिटीमा पठाउने, कस्लाई प्रदेश संसदका लागि पठाउने र कस्लाई पालिकामा पठाउने र कस्लाई जिल्ला उपाध्यक्ष बनाउने भन्ने छलफल चलाई रहेको बुझिएको छ । त्यसो गर्दा पार्टी विभाजन अघिको दश बुँदे सहमति पनि उपाध्यक्षमा सहमति गराउने अर्को आधार एमाले सँग रहेको छ ।
पार्टीको अर्को महत्वपूर्ण पद जिल्ला सचिवका लागि पनि वर्तमान प्रचार विभाग प्रमुख प्रकाश अधिकारी, वर्तमान उप सचिव उमेश गुरुङ, जिल्ला कमिटी सदस्य गोपाल नेपाल, जिल्ला कमिटी सदस्य बुद्धिप्रसाद खनालको नाम चर्चामा छ । यी नाम मध्ये अहिले पार्टीको आवश्यकता अनुसार दक्ष र क्षमतावान सचिव छान्ने दाउमा पार्टीको नेतृत्व पंक्ति रहेको बुझिएको छ ।

चर्चामा रहेका उम्मेदवार सबैले आफूलाई सचिव पदका लागि अब्बल ठान्ने गरेका छन् । तर यी उम्मेदवारहरुलाई पनि सुहाउँदो स्थानमा पठाएर सर्वसम्मत गराउने लक्ष्य रहेको पार्टी स्रोतले बतायो । ‘अहिले पार्टीमा प्रचार विभागको जिम्मेवारीमा रहेपनि आवश्यक परेका काम गरिरहेको छु, र अब पनि त्यो आवश्यकता देखेर साथीहरुले त्यसको मुल्याकंन गरिदिनु हुन्छ भन्ने अपेक्षा छ ।’ प्रचार विभाग प्रमुख अधिकारीले भने । सचिवमै दाबी गर्ने उमेश गुरुङ पनि आफ्नो अब जाने ठाउँ सचिव पदनै भएको बताउँछन् । सर्वसम्मत भए त राम्रो हो, भएन भने पनि चुनावमा जानु अन्तिम विकल्प भएको गुरुङले बताए । तर, सबै उम्मेदवारलाई व्यवस्थापन गर्दै सचिव पनि सर्वसम्मत गराउने प्रयास एमालेले गरिरहेको छ ।
दुई जनाको पद रहेको उप सचिवमा भने दर्जन बढी एमाले कार्यकर्ताको नाम चर्चामा छ । उपसचिव पदलाई भने एमालेले जातिगत ढंगले पनि व्यवस्थापन गर्ने प्रयास गरिरहेको बुझिएको छ । सर्वसम्मत गराउन एमालेको विधानले व्यवस्था गरेको ‘एक व्यक्ति एक पद’ ले पनि धेरै नेता कार्यकर्ताको आफैं व्यवस्था गर्नेछ ।

एउटा पदमा गएपछि अर्को पद स्वतः सक्किने हुँदा चर्चामा रहेका नामका उम्मेदवारहरु आफैं पनि पछि हट्ने सम्भावना प्रवल छ ।
एमालेले पार्टी भित्रका नेताकार्यकर्ताको व्यवस्थापन सँगै पूर्व माओवादीबाट आउने पंक्तिको व्यवस्थापन जिल्लाको हकमा पनि गर्नुछ । त्यसका लागि अहिलेको माथिल्लो नेतृत्वले पूर्व माओवादीबाट आउनेलाई व्यवस्थापन गरेर सर्वसम्मत गराउन पर्ने चुनौती पनि छ । चुनावमा पठाउँदा सबैले जित्न नसक्ने अवस्थाले पार्टी थप संकटमा जाने हुँदा सर्वसम्मतनै पार्टी जोगाउने उत्तम विकल्प मानिएको एमाले नेताकार्यकता बताउँछन् । कतिपयको चाँहि अहिले कुनै पदमा आफ्नो नाम घोषणा गरिराखे पछि कुनै न कुनै अवसर पाएन्छ भन्ने दाउमा पनि देखिएको छ भने कतिपय नेताकार्यकर्ता आफू चुप लागेर पार्टीको इमान्दार र वफादार सदस्यका रुपमै बसेको पाइएको छ ।

यस्ताे छ इलामकाे इतिहास
२००६ मा कम्युनिस्ट पार्टीको स्थापना भएसँगै इलाममा पनि वामपन्थी गतिविधि भएको सुरु भएको हो । २००९ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेपछि अखिल नेपाल किसान संघको नाममा जिल्ला कम्युनिस्ट पार्टीको गतिविधि भयो । २०१२ सालमा ज्ञानीराम भट्टराईको नेतृत्वमा कम्युनिस्ट पार्टीको संगठन बनेको थियो ।

२०२७ सालमा जीवन मगरको नेतृत्वको कोअर्डिनेशन केन्द्र बनेपछि त्यसलाई रत्नकुमार बान्तवा, प्रदीप नेपाल, जीवन मगरहरूले नेतृत्व गरे । त्यसपछि अगम बान्तवा, चक्र निरौला, देवराज घिमिरेहरूले पार्टीको नेतृत्वमा रहे । २०५० सालको अधिवेशनपछि दुई पटक पदम भण्डारी, अगम बान्तवा टंक भट्टराई, मणि कुमार लिम्बुले नेतृत्व समालेका थिए । एमालेमा अध्यक्षात्मक प्रणाली सुरु भएपछि मणिकुमार लिम्बु र राम रानाले जिल्ला अध्यक्ष भइसकेका छन् ।

पहिला सचिव पदलाई मुख्य पद मानेको एमाले इलाममा ज्ञानीराम भट्टराई, देवराज घिमिरे, पदम भण्डारी, टंक भट्टराई, अगमप्रसाद वान्तवा, मणिकुमार लिम्बू सचिव भएर पार्टी सञ्चालन गरेको इतिहास छ । सचिवबाट अध्यक्ष पदलाई प्रमुख पद मानिएपछि मणिकुमार लिम्बू र रामबहादुर रानाले पार्टी अध्यक्ष चलाइ सकेका छन् । दशौं जिल्ला अधिवेशनमा ८०६ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा आयोजना गरिएको अधिवेशनमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत र छलफल सकिएपछि मात्र नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन हुने कार्यतालिका रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार