के वस्नेत बन्लान् त निर्विरोध एमाले अध्यक्ष ?

इलाम १६ पुस : आजबाट एमाले इलामको दशौ अधिवेशन शुरु भएको छ । अधिवेशनसँगै जिल्ला नेतृत्वको रस्साकस्सी जोडदार बाहिर आएको छ । विशेषत अध्यक्ष को बन्नेमा रस्साकस्सी रहेको छ ।
१० औं अधिवेशनबाट महेश बस्नेत अध्यक्षमा उम्मेदवार बन्ने पक्कापक्की छ । नवौ अधिवेशनबाट सचिवमा निर्वाचित बस्ने यसपटकका अध्यक्ष पदका सशक्त दावेदार हुन् ।
् नवौ अधिवेशनमा अध्यक्षमा रामबहादुर मगर (राना), उपाध्यक्षमा भक्त केसी र सचिवमा बस्नेत निर्वाचित बने । तर, अहिले केही समयअघि मात्रै मगर केन्द्रीय सदस्य बनेका छन् । अध्यक्ष केन्द्रीय नेतृत्वमा पुगेको र उपाध्यक्ष समेत खाली रहेकाले बस्नेत केही समयअघि मात्रै अध्यक्षमा मनोनीत भएका छन् ।
महिनादिनअघि मात्रै पार्टीको जिल्ला कमिटी बैठकले बस्नेतलाई अध्यक्षमा चयन गरेको छ । बस्नेत अब निर्वाचित अध्यक्ष बन्न चाहन्छन् । पार्टी केन्द्रीय उपाध्यक्ष सुवास नेम्वाङका खम्वाका रूपमा परिचित बस्नेत एमालेका प्रभावशाली नेतामा गनिन्छन् । पार्टीभित्र मात्र नभई बाहिर पनि बस्नेतको प्रभाव राम्रो छ । त्यसो त बस्नेत रणनीतिक नेता पनि हुन् । यतिसम्म भनिन्छ कि एमालेमा सबैभन्दा ‘बढी बोली विक्ने’ र ‘निर्णय लागु हुने’ नेता नै बस्नेत हुन् । आफ्ना मान्छेलाई बचाउन सक्ने र विपक्षीलाई पनि प्रभावमा पार्न सक्ने नेतामा बस्नेत पर्दछन् । तर एमाले स्रोतका अनुसार बस्नेत यस पटक सर्वसहमत चुनिन समस्या पनि उस्तै छन् ।
वर्तमान केन्द्रीय अध्यक्ष केपी ओलीले जिल्लाका अधिवेशन सर्वसहमत वा अधिकतम् सहमतिमा सम्पन्न गर्न उद्घोष गरेका छन् । यदि केन्द्रको बलमा सर्वसहमतमै नेतृत्व चयन गरेमा बस्नेत अध्यक्ष बन्ने पक्का जस्तै छ । तर, त्यो सम्भावना कम छ । अहिले बस्नेत पछाडि दुई नेता अध्यक्षको दावेदार देखिन्छन् । यी हुन्, डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराई । दुलाल हालका जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
प्रगतिशील लेखक संघ र प्रेस चौतारीको केन्द्रीय नेतृत्वमा पुगेका दुलालले केही समयअघि देखि नै अध्यक्षमा लड्ने बताएका छन् । उनी ‘एक व्यक्ति, एक पद’का लागि पनि आफूले उम्मेदवारी दिने दावी गर्छन् । यसको मतलब उनी पार्टीको जिम्मेवारीमा एकै व्यक्तिले संसदीय र सांगठनिक जिम्मेवारी लिन नहुने उनको भनाइ छ । उनको भनाइको आशय बस्नेत अध्यक्ष बनेमा पुन ः संसदीय फाँटमा समेत जान सक्छन् । दुलाल त्यो रोक्न चाहन्छन् ।
पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा छिरेका दुलाल पिएचडी होल्डर समेत हुन् । दुलाल एमालेको राजनीतिबाट बाहिरिएर कुनै बेला माओबादी बने । तर, लामो समय टिक्न सकेनन् र पुन ः एमालेमै फर्किए ।
उनी साहित्यिक क्षेत्रमा पनि गनिनेमै पर्ने भएकाले पनि अध्यक्षमा दावी गर्ने उनको भनाइ छ । तर, केही शर्तमा दुलाल लचक पनि छन् । यदि बस्नेत र भट्टराईबीच सहमति भएमा आफूले छाडिदिने पनि दुलाल बताउँछन् ।
यता, भट्टराई भने पार्टीभित्रका सिनियर नेतामा पर्छन् । भट्टराईका लागि अध्यक्ष बन्ने यो अन्तिम अवसर हो । अहिले एमालेभित्र ७० बर्षे हदम्याद छ । आउँदो ११ औ अधिवेशनमा भट्टराई ७० काटिसक्छन् र उम्मेदवार बन्न पाउँदैनन् । यसैले भट्टराई अध्यक्षकै लडाइँमा रहेका हुन् ।
एमालेभित्र भट्टराई कुनै बेला गनिएका नेता पर्थे । आठौ जिल्ला अधिवेशनमा भट्टराई अध्यक्ष पदकै उम्मेदवार बने । त्यसबेला भट्टराईले मणिकुमार लिम्बूसँग पराजीत भए । त्यसैबेला मुलुकमा माओवादी पार्टीको दबदबा थियो । भट्टराई पनि माओबादीमै लागे । तर दुलालजस्तै भट्टराई पनि माओबादीमा लामो समय टिक्न सकेनन् र एमालेमै फर्किए । नवौ अधिवेशनमा भट्टराईले जिल्ला कमिटी सदस्यमा मात्र उम्मेदवारी दिए ।
त्यसबेला भट्टराईले सदस्यमा विजयी बने । भट्टराईले आफू आठौ अधिवेशनमा कार्यकर्ताका कारणभन्दा पनि नेताकै कारण हार व्यहोरेको बताउँदै आएका छन् । यता, बस्नेतलाई रोक्न दुई मध्ये एक उम्मेदवार बन्ने सम्भावना धेरै रहेको छ । पार्टीको केन्द्रीय नेतृत्वमा केपी ओलीविरुद्ध डा. भीम रावलले उम्मेदवारी दिएजस्तै जिल्लामा समेत त्यही अवस्था आउन सक्ने छ ।
यसैले बस्नेत सर्वसहमत अध्यक्ष बन्नेमा विश्वस्त हुने अवस्था छैन । पार्टी नेतृत्वले दुलाल र भट्टराईलाई सही व्यवस्थापन गरेमा मात्रै वस्नेत  निर्विरोध अध्यक्ष हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार