भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ। भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ।
भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयं स्थानीयबासीहरू बताउँछन्। पहिलो लहरको कोरोनापछि भद्रपुर सीमा नाका १९ महिना बन्द गरिएको थियो। गत असोज १५ गतेदेखि भद्रपुर नाका पुनः सञ्चालनमा आएको हो।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र भद्रपुर नाकाबाट आवतजावत गर्न समया तोकिएको छ। सीमा नाका सञ्चालन भएपछि नगरपालिकाले केही समयका लागि मात्रै एक जना स्वास्थ्यकर्मी खटाएको थियो। स्वास्थ्यकर्मी बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र बस्ने गर्थे। त्यो पनि सशस्त्र प्रहरी बसेको पोस्टमा।
स्वास्थ्यकर्मीको लागि छुट्टै हेल्थ पोस्टसमेत बनाइएको छैन। पछिल्लो समयमा छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएसँगै नाका उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु पर्ने हो। तर, यहिबेला नाकामा स्वास्थ्यकर्मी छैन। तैनाथ सुरक्षाकर्मीले बिना मास्क आवतजावतमा भने रोक लगाएको छ।
मास्क, खोप कार्ड र पिसिआर रिपोर्टले मात्र कोरोना छेक्दैन। त्यसका लागि सीमा नाकामा ज्वरो नाप्ने थर्मल गन, कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहित स्वास्थ्यकर्मी परिचालन हुनुपर्छ।
सीमा नाकाबाट आउजाउ गर्ने सर्वसाधारणहरू अझै पनि बिना मास्क हिँडिरहेको बताउँदै वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले भने, ‘अझै पनि मास्क लगाउनुस् भन्नु परेको छ, सर्वसाधारण जनतालाई कहिले चेतना आउँछ ?’ काँकडभिट्टा नाकामा कडाइसँगै भीडभाड बढ्न थालेपछि भारतीय नम्बर प्लेटका टुरिस्ट गाडी भद्रपुर नाकाबाट आउन थालेका छन्।
ती भारतीय गाडीमा आउने सर्वसाधारण बागडोगरा विमानस्थल र न्यु जलपाइगुडी रेल्वे स्टेसनबाट सोजै आउने गरेका छन्। ‘त्यहाँबाट आउने सर्वसाधारण भारतको कोरोना जोखिम क्षेत्रबाट आउन सक्छन्,’ प्रहरी निरीक्षक राईले भने, ‘उनीहरूलाई परीक्षण बिनै प्रवेश गर्न दिन बाध्य छौँ, सीमा नाकामै उनीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नै खटाइएको छैन, स्थानीय पालिकासँग माग गरेपनि पठाएको छैन।’
ज्वरो नाप्ने थर्मल गन र कोरोना परीक्षणको एन्टिजेन्ट किटसहितको स्वास्थ्यकर्मी नहुँदा कोरोना फैलिने जोखिम नाकामा बढेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालले बताए।
यस नाकामा दुई स्थानमा पिसिआर रिपोर्ट र खोप कार्ड जाँच गरिन्छ। नेपालतर्फ सशस्त्र र नेपाल प्रहरीले र भारततर्फ एसएसबीले पिसिआर रिपोर्ट र खोप कार्ड जाँच गर्दै आइरहेको छ। सशस्त्र प्रहरी निरीक्षक दाहालले भने, ‘एसएसबीले जाँच गर्ने स्थानमा पनि स्वास्थ्यकर्मी छैन, यता पनि स्वास्थ्यकर्मी छैन।’ ‘स्वास्थ्यकर्मी हप्तामा एक÷दुई दिन आउने फेरि आउन छाड्छन्, यस बारेमा नगरपालिकालाई जानकारी गराइसकेका छौँ,’ उनले भने।
थाहाखबरबाट