नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सत्ता हत्याउने माध्यम बनाइएको बताएका छन् । नेपाली काँग्रेस याङवरक १ वडा समितिले च्याङथापुमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले एमालेले एमसीसीलाई सत्ता हत्याउने माध्यम बनाएको आरोप लागाएका हुन् ।
‘एमाले अध्यक्ष केपी ओलीको सरकारले एमसीसी अघि बढाएको थियो,’ आङ्देम्बेले भने ‘एमाले सत्ता बाहिर हुँदा एमसीसीको बिरोध गरेर पानी माथिको ओभानो बन्न खोजिरहेको छ ।’ सत्ता गठबन्धन भत्काए एमसीसी पास गर्न सहयोग गर्ने ओलीको प्रस्ताबलाई उध्रित गर्दै आङ्देम्बेले भने ‘गठबन्धन भत्काउँदा एमसीसी ठिक हुने, नभत्काए बेठिक हुने एमालेको यो कस्तो चरित्र हो ?’ देशमा अस्थिरता ल्याउने एमाले लाज पचाएर अघि बढेको उनको ठहर छ । एमालेको द्वैध चरित्रलाई सबैले बुझ्नुपर्ने आङ्देम्बेको भनाई थियो ।
सत्तामा हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने एमालेको नीतिले गर्दा देशमा समस्या आएको उनको ठहर थियो । ‘सबै दलको सहमतिबाट एमसीसीको बिषलाई टुंगो लगाइन्छ,’ उनले भने ‘एमसीसी पास गराउन एमाले पनि तयार छ । तर, संसदलाई बन्धक बनाएर एमालेले जनतामा भ्रम फैलाईरहेको छ ।’
सभालाई सम्बोधन गर्दै आङ्देम्बेले पूर्व प्रधानमन्त्री ओलीको बोलीले गर्दा कोरोना महामारीका बेला हजारौँ नेपालीले ज्यान गुमाएको आरोप लगाए । ‘नेपाली नागरिकले कोरोना महामारीको सामना गरिरहेका बेला ओलीले ठट्टा गरिरहे,’ ओलीको बोलिलाई उध्रृत गर्दै आङ्देम्बेले भने ‘देशबासिको नाममा सम्बोधन गर्ने बहानामा ओलीले अम्बाको पात खाए र हाछ्यूँ गरे कोरोना भाग्छ भन्ने अभिव्यक्ति दिएर जनतालाई मृत्युशैयामा पु¥याईयो ।’ ओलीको बोलिमा बिश्वास गर्र्दा जनताले अकालमै ज्यान गुमाएको आङ्देम्बेको ठहर छ ।
सम्बोधनको क्रममा आङ्देम्बेले नेपाली काँग्रेसभित्र पनि केही बिसंगतिहरु भएको स्वीकार्दै पार्टीलाई सुद्धिकरण गर्ने अभियान चलाउने अठोट गरे । ‘सुद्धिकरण केन्द्रिय समितिबाटै सुरु हुन्छ,’ उनले भने ‘सुध्रिढ काँग्रेसले देशलाई निकास दिन्छ ।’
सभालाई काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु, जिल्ला सदस्य हिमा अधिकारी, मुबिन्द्र योङ्या, तरुण दल जिल्ला उपाध्यक्ष सबिन माबो, काँग्रेस याङवरक सभापति शेरबहादुर नुगो लागायतले सम्बोधन गरेका थिए ।