नेपालमा काजु र आलमण्ड (मधेसी बदाम, हाडे बदाम)को व्यवसायिक खेतीको सम्भावना भएपनि सरकारले चासो नदिँदा वार्षिक अर्बौ रुपैयाको आयात हुने गरेको छ । चालू आर्थिक वर्षको चार महिनामा रु एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हो ।
भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक मसान्तसम्म)को तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्ष गरी व्यापारीले काजु छ देश र मधेसी बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।
कुन देशबाट कति आयात ?
काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा मधेसी बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ । सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट चालू आर्थिक वर्षको चार महिनामा रु ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।
दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ । त्यहाँबाट सोही अवधिमा रु १४ करोड ५३ लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ । धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि रु सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै नाइजेरीयाबाट रु तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट रु नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।
सबैभन्दा धेरै मधेसी बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट रु ५५करोड ७६ लाख २९ हजारमा नौ लाख नौ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट रु १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट रु तीन लाख २४ हजारमा ५०४ केजी मधेसी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट रु १८ करोड १५ लाख चालिस हजार र बदामबाट रु १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।
नेपाली बजारमा काजु प्रतिकेजी रु दुई हजार दुई सयदेखि रु दुई हजार पाँच सयसम्म र मधेसी बदाम रु दुईहजार आठसयदेखि रु तीन हजार सम्ममा खरिद गर्न सकिन्छ । जनताको क्रयशक्तिमा केही वृद्धि भएकाले काजु र मधेसी बदामको आयात वढेको अनुमान लगाउन सकिन्छ ।
काजु र आलमण्ड खेतीको योजना विहीन कृषि मन्त्रालय
कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोत भन्छ, “धान, मकै र गहुँको उत्पादन नै पु¥याउन नसकिएका बेला कता काजु र मधेसी बदामको उत्पादनमा चासो देखाउने ।” मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ । संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल आयात भएको देखिन्छ ।
कृषि विभागका अनुसार नेपालमा मधेसी बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन । खेर गइरहेको सुख्खा जमिन जहाँ आरु र आरुपखडाको खेती हुन्छ त्यहाँ मधेसी बदामको पनि सजिलै खेती गर्न सकिन्छ । त्यसैगरी काजु पनि तराईको उष्ण प्रदेशीय क्षेत्र जस्तै धनुषा, सिरहा, सप्तरीलगायत अन्य केही जिल्लामा खेती गर्न सकिने सम्भावना छ ।
उच्च वर्गको पौष्टिक आहार
उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ काजु र मधेसी बदामलाई सुख्खा फलपूmलका रुपमा खाने गरेको पाइन्छ । अंग्रेजीमा मधेसी बदामलाई ‘आलमण्ड’ भनिन्छ । नेपालीले आलमण्डलाई मधेशी बदाम र हाडे बदामको नामले चिन्दछन् । मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यो आरु, आरुपखडा, खुर्पानीजस्ता प्रजातिको रुखमा पर्दछ ।
काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन । नेपालमा काजु र मधेसी बदाम भइ मसलाको रूपमा तिहार, अन्य चाडपर्व, विवाहलगायत शुभकार्यमा प्रयोग हुनाका साथै सुख्खा फलपूmलका रुपमा उपभोग गरिन्छ ।