जिल्ला फुटबल संघ इलामले जिल्लाका तीन पत्रकारलाई शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारीताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाउने तीन पत्रकार सम्मान सहित पुरस्कृत बनेका हुन् । संघले पत्रकारहरु गणेश घिमिरे, नमिन ढकाल र विनय तिम्सिनालाई सम्मान सहित जनही २१ सय रुपैंयाँका दरले पुरस्कृत गरेको हो । पुरस्कृत तीनै जनालाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गी र जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरे ।
संघले इलामको ठूलो टुडिखेलमा शुक्रबार सम्पन्न एन्फा जिल्ला लिगको फाइनल खेलको समापन कार्यक्रमको अवसर पारेर सम्मानसहित पुरस्कृत गरेको हो । सम्मानित पत्रकार घिमिरे नेपाल पत्रकार महासंघ इलाम शाखाका कार्य समिति सदस्य हुन् ।
पत्रकार घिमिरे नेपालबाणी एफएमका समाचार प्रमुखका साथै इलाम एक्सप्रेस दैनिकमा आबद्ध र नेपाल समाचार पत्र दैनिकका इलाम संवाददाता छन् । यस्तै, अर्का पुरस्कृत ढकाल लोकल सन्देश अनलाइनका सह–सम्पादक तथा थाहा खबर अनलाइनका इलाम संवाददाता छन् भने पुरस्कृत तिम्सिना न्यूज ट्वान्टी फोरका इलाम संवाददाता छन् ।