इलाम सामुदायिक कृषि क्याम्पसमा फागुनबाट पढाइ शुरु हुने

  आवाज सम्वाददाता


इलाम । इलाममा फागुनदेखि कृषि विषयमा स्नातक तहकाे पढाइ शुरु हुने भएकाे छ ।  इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसले सम्बन्धन पाएकाले पढाइ शुरु हुने भएकाे हाे । कृषि स्नातक पढाइको लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको हो । सामुदायिक कृषि क्याम्पसले विद्यार्थीको भर्ना प्रक्रिया शुरु गरेको छ । भर्नाको लागि अनलाई आवेदन खुलाईएको क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालय र कृषि क्याम्पसको वेभसाइटबाट आवेदन भर्न सकिनेछ । आवेदन माघ १२ सम्म पेश गर्न पाइने छ । इन्ट्रान्स उतिर्ण विद्यार्थीले क्याम्पसमा भर्ना पाउने छन् । इन्ट्रान्स परिक्षापनि इलाममानै हुने बताइएको छ ।
इलाम सामुदायिक कृषि क्याम्पसको बिएस्सी एजी अध्ययनको लागि विज्ञान विषय लिई प्लसटु उत्तिर्ण गरेको हुनुुपर्नेछ । तर, उनीहरुले प्लसटुमा जीव विज्ञान र गणित विषय अध्ययन गरेको हुनुपर्नेछ । त्यस्तै आइएस्सी एजी गरेकाहरु र प्लसटुमा कृषि विज्ञान गरेका र सिटिइभिटिईमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी एजी पढ्न पाउनेछन् ।
चार वर्षमा पुरा हुने आठ समेस्टरको कोर्ष पुरा एक जना विद्यार्थीले चार लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पहिलो र दोस्रो समेस्टरमा ७०-७० हजार रुपैयाँ बुझाउनुपर्नेछ । बाँकी रकम छ समेस्टरमा भुक्तानी गर्नुपर्नेछ । तेस्रो सेमेस्टरदेखि ४३ हजार रुपैयाँ हाराहारी शुल्क बुझाउनुपर्नेछ ।
क्याम्पसले कक्षा सञ्चालनको लागि तयारी पुरा गरेको छ । दुईवटा ल्याब, स्मार्ट क्लासरुम, अभ्यासको लागि फिल्ड तयार भएको क्याम्पस प्रमुख डा. योगन्द्रमान श्रेष्ठले जानकारी दिए । सामुदायिक कृषि क्याम्पसमा फागुनदेखि पठन पाठन शुरु हुने जनाइएको छ ।
इलाम नगरपालिका–९ मा स्थापना गरिएको कृषि क्याम्पस अन्य क्याम्पसहरुको तुलनामा सस्तो, अनुकुल वातावरणमा भएकाले दिगो रुपमा सञ्चालन हुने क्याम्पस सञ्चालक समितिका सदस्य सचिव ठाकुर नारायण श्रेष्ठ बताउँछन् । ‘अरुतिर साढे छ लाख देखि १५ लाख सम्म लाग्दो रहेछ, त्यसको तुलनामा इलाम सामुदायिक कृषि क्याम्पस सस्तो छ’, श्रेष्ठले भने,‘इलाम कृषिको जिल्ला हो, अध्ययनको लागि समेत इलामको वातावरण अनुकुल छ त्यसैले क्यम्पस दिगो रुपमा चल्छ भन्नेमा हामी ढुक्क छौ ।’
इलाम सामुदायिक कृषि क्याम्पस नेपालमानै स्थानीय तहले स्थापना गरेको पहिलो सामुदायिक कृषि क्याम्पस हो । यो पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने समेत पहिलो कृषि क्याम्पस भएको क्याम्पस प्रमुख योगेन्द्रमान श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार